
अर्थ नेपाल संवाददाता
काठमाडौँ/यस वर्षको मिस तामाङको उपाधि ठोरी गाउँपालिका पर्साकी सिम्रन स्याङ्बोले जित्नुभएको छ ।
नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्साकी सिमरनले जित्नुभएको हो । उहाँले प्रतियोगितामा सहभागि २७ प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुम्नुभएको हो ।
सिम्रनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त गर्नुभएको थियो । उपाधिसँगै उहाँले रु एक लाख पुरस्कार हात पार्नुभयो । सिमरनलाई सन् २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहिरयाउनुभयो । उहाँ एक वर्षसम्म सिभिल गु्रपको ब्राण्ड एम्बास्डर समेत हुनुभएको छ ।
यस्तै, फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाडाँैंकी कुञ्छान लामा, फोर्थ रनरअपसँगै ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन तथा फिप्थ रनरअप काभ्रेकी अनिशा तामाङ हुनुभयो । यसैगरी, वेष्ट क्याटवाकको उपाधि रूपा घिसिङले, वेष्ट पर्सनालिटी आशिका बलले, वेष्ट फ्रेण्डसिप सिम्रन लामाले, वेष्ट अनुशासन क्रिष्टिना लामाले तथा वेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले जित्नुभयो ।
निर्णायकहरू सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, सन् २०१२ की मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवीद्वय प्रविण मोक्तान र भुपाल तामाङ रहनुभएको थियो । तामाङ जातिको कला, संस्कृति, भेषभुषा तथा रीतिरिवाज हराउँदै गएकाले त्यसलाई जोगाउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गरेको नेपाल तामाङ कला–संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिनुभयो ।
“यूवा पुस्ताले आफ्नो संस्कृति र रितीरवाज छोड्दै गएको छ, यसलाई जोगाइराख्न प्रतियोगिता आयोजना गर्दैआएका छौँ” उहाँले भन्नुभयो ।
सिम्रनसहित अहिलेसम्म जेनिशा मोक्तान, उपाली ग्याबाक, समी बज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान तामाङ, उर्मिला लामा योञ्जन र पिंकी घिसिङले मिस तामाङको उपाधि जित्नुभएको छ ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपालको लोकतान्त्रिक गणतान्त्रिक संविधान लेखनमा विषेश भूमिका निर्वाह गरेको भन्दै १६ जना तामाङ सभासद तथा सांसदलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा राधिका तामाङ, यशोदाकुमारी लामा, रेशमबहादुर लामा, परशुराम तामाङ, दिलमान पाख्रिन, शेरबहादुर तामाङ, बहादुरसिंह लामा, तीर्थबहादुर लामा, कमला दोङ, बबिना मोक्तान, पुष्पलता लामा, रमेशकुमार लामा, इच्छाराज तामाङ, राजाराम स्याङतान, छेवाङतेन्जिङ लामा र योगेन्द्र घिसिङ रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij