२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

315
Shares

दमौली- १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत जिल्लामा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्ने स्वीकृति प्रदान गरेको हो । यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ ।

प्रसारण लाइन क्षेत्रअन्तर्गत देवघाट गाउँपालिकामा पाँच, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा छ÷छ वटा सामुदायिक वन रहेका छन् । चितवनतर्फ भने रुख कटानको जारी रहेको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ टावर निर्माण गर्नुपर्नेछ । निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले हालसम्म ८३ वटा टावरको जग हाल्ने तथा ७८ वटा टावर जडान गर्ने कार्य सम्पन्न गरेको छ ।

आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ । रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ ।

आयोजनाको तीन प्याकेजमा काम भइरहेको छ । प्याकेज एक बाँधलगायतका संरचना निर्माणका लागि सोङ्दा कालिका जेभीमार्फत् काम भइरहेको छ । यो प्याकेजमा ६३ प्रतिशत प्रगति रहेको छ ।

आयोजनाको प्याकेज दुई विद्युतगृह तथा सम्बन्धित उपकरणहरुमा सिनो हाइड्रो कर्पोरेसनले चीनले काम गरिरहेको छ । यो प्याकेजमा ७९ प्रतिशत प्रगति रहेको छ । आयोजनाको समग्र प्रगति भने ७८ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij