२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

असोजमा पनि घट्यो बैंकको निक्षेप ब्याजदर

असोजमा पनि घट्यो बैंकको निक्षेप ब्याजदर

320
Shares

काठमाडौँ – वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा प्रवाह अपेक्षाकृत कमजोर भएपछि निक्षेपको ब्याजदर घट्ने क्रम असोजमा पनि जारी रहेको छ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम ब्याजदरको औसत असोजमा ४.०८९६ प्रतिशतमा झरेको छ। भदौमा यस्तो औसत ब्याजदर ४.१३६० प्रतिशत थियो। अर्थात् एक महिनाको अवधिमा औसत अधिकतम ब्याजदर ०.०४६ प्रतिशत बिन्दुले घटेको हो।

यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत ४.१६७५ प्रतिशत थियो। साउनदेखि असोजसम्म आइपुग्दा यस्तो ब्याजदर निरन्तर घटेको देखिन्छ।

चार बैंकले घटाए ब्याज
भदौको तुलनामा असोजमा चारवटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। नबिल बैंक, एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले ब्याजदर घटाएका हुन्।

बाँकी १६ वटा वाणिज्य बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्। केही बैंकले सामान्य रूपमा ब्याजदर घटाएपछि समग्र औसत दरमा समेत कमी आएको हो।

असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा प्रभु बैंकको अधिकतम ब्याजदर अन्य बैंकको तुलनामा केही बढी रहेको छ। बैंकहरूले निक्षेपको अवधिअनुसार फरक-फरक ब्याजदर निर्धारण गर्ने गरेका छन्। ४.५५ प्रतिशतसम्मको ब्याजदर भने १० वर्षभन्दा लामो अवधिको मुद्दती निक्षेपमा मात्र लागू हुने जनाइएको छ। छोटो अवधिको मुद्दतीमा भने ब्याजदर तुलनात्मक रूपमा कम छ।

नयाँ तथा नवीकरण हुने मुद्दतीमा मात्रै नयाँ दर
बैंकहरूले असोजका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर यस महिनामा खोलिने नयाँ मुद्दती निक्षेपमा लागू हुनेछ। यसैगरी अवधि पूरा भएर असोजमा नवीकरण हुने मुद्दती निक्षेपमा पनि नयाँ ब्याजदर कायम हुनेछ।

यसअघि नै लामो अवधिका लागि मुद्दती खाता खोलेका निक्षेपकर्ताले भने खाता खोल्दाको सम्झौता तथा शर्तअनुसारकै ब्याजदर पाउनेछन्।

निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा समेत प्रभाव पर्छ। आधार दर घटेपछि कर्जाको ब्याजदर घटाउन दबाब सिर्जना हुने भएकाले निक्षेपको ब्याजदरमा आएको कमीले ऋणीलाई समेत प्रभाव पार्ने गर्छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij