२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

240
Shares

म्याग्दी- जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा रु. एक करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन गरेको कार्यालयले आव २०८२÷८३ मा रु. पाँच करोड ३६ लाख ५३ हजार एक सय ३६ राजस्व सङ्कलन गरेको हो ।

पैसट्ठी मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपणबापत रु. पाँच करोड २९ लाख ४० हजार तीन सय ४१ राजस्व तिरेको डिभिजनल वन अधिकृत बसन्तकेशव अधिकारीले राससलाई जानकारी दिनुभयो । डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाले रु. एक लाख ९४ हजार आठ सय ८१ तथा राहुघाट जलविद्युत् आयोजनाले वन क्षेत्र उपयोगबापत रु. पाँच लाख १७ हजार नौ सय १३ राजस्व बुझाएको उहाँले बताउनुभयो ।

सङ्कलित राजस्वमध्ये रु. दुई करोड ३३ लाख ३३ हजार तीन सय १० सङ्घीय सरकारको वन विकास कोषमा र रु. ४५ लाख ४४ हजार ७५ मूल्य अभिवृद्धि कर (भ्याट)बापत जम्मा गरिएको छ। यस्तै, रु. दुई करोड ९४ लाख २१ हजार तीन सय २० प्रदेश सरकारको कोषमा दाखिला भएको छ ।

उक्त कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न प्रजातिका तीन हजार छ सय किलोग्राम जडीबुटी, निगालोका ३० हजार टुसा, खुरु पाँच हजार वटा, निजी आवादीको एक लाख ३५ हजार पाँच सय ४० घनफिट काठ तथा १३ दशमलव ९३ चट्टा दाउरा बिक्री भएको छ ।

यसैगरी, भिरमह एक हजार एक सय किलोग्राम, नागबेली पाउडर पाँच सय २० किलोग्राम, रातो च्याउ ८० किलोग्राम, लालीगुराँसको फूल ११ किलोग्राम र धुपीको पात आठ किलोग्राम निकासीको अनुमति दिई राजस्व सङ्कलन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij