होटल संघ पदाधिकारी र एमाले अध्यक्ष केपी ओली भेटवार्ता

अर्थ नेपाल
काठमाडौं /आज पूर्व प्रधानमन्त्री एवं अध्यक्ष नेकपा एमाले केपी शर्मा ओलीलाई होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यको नेतृत्वमा गएको होटल व्यवसायीहरुको प्रतिनिधिमण्डलले उहाँकै निवासमा भेटी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पूर्व प्रधानमन्त्रीको प्रभावशाली तथा गतिशिल नेतृत्वमा ऐतिहासिक सफलता प्राप्त भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
उक्त अवसरमा होटल संघ नेपालका अध्यक्ष शाक्यले पूर्व प्रधानमन्त्रीज्यूको कुशल नेतृत्वमा नेपालमा दिगो राजनीतिक स्थायीत्व र आर्थिक तथा सामाजिक विकासले मुर्त रुप लिने अपेक्षा गर्दै नेपालको पर्यटन लगायत समग्र आर्थिक क्षेत्र तथा सामाजिक विकासका लागि पूर्व प्रधानमन्त्रीज्यूबाट गरिने हरेक पहल र प्रयत्नमा होटल संघ नेपालकोे सदैव सहयोग र साथ रहने प्रतिबद्धता जाहेर गरेका छन् ।
संघका पूर्व अध्यक्ष योगेन्द्र शाक्यले होटल व्यवसायलाई शान्तिपूर्ण रुपमा संचालन गर्न सकेमा पर्यटन मार्फत नेपालमा आर्थिक परिवर्तन संभव भएकाले नेपालमा व्यवसायीक वातावरण निर्माण गरि सबै प्रदेशहरुमा लगानी र पर्यटकीय गतिविधिहरु संचालन गर्ने र व्यवसायी तथा कर्मचारी बीच सुमुधुर औद्योगिक संबन्ध निर्माण गर्न पूर्व प्रधानमन्त्रीज्यूलाई आग्रह गरेका छन् । उक्त अवसरमा होटल संघ नेपालकी प्रथम उपाध्यक्ष सृजना राणाले होटल व्यवसायमा ठुलो लगानी आवश्यक हुने भएकाले लगानीकर्ता व्यवसयाी र कर्मचारी सबैलाई हित हुने गरि आगामी सरकारले कार्य गर्न सकेमा मात्र नेपालले विकासको फडको मार्न सक्ने बताइन ।
भेटका अवसरमा पूर्व प्रधानमन्त्री ओलीले प्रतिनिधिमण्डललाई धन्यवाद दिँदै अहिले पर्यटन क्षेत्र त्यसमा पनि खरबौं लगानी रहेको होटल उद्योग पर्यटनको प्रमुख आधारस्तम्भ रहनुका साथै देशकै आर्थिक मेरुदण्डको रुपमा रहेको यस क्षेत्रलाई नयाँ प्रादेशिक संरचनामा हरेक प्रदेशलाई पर्यटन मैत्री बनाई अगाडि बढाउने आश्वासन दिनुभयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij