२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

345
Shares

रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन
आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन…
बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको मेहेनत बगैँचामा फल बनेर झुल्दा पनि बेचैन छ उहाँको मन ।

रूखका हाँगा स्याउले झुकेका छन् । हाँगामा मात्रै नभई बोट नै अडेस लागेको छ । बगैँचा राताम्य छन् । बगैँचा हेरेर उत्सव मनाउनुपर्ने परिवार ‘स्याउ कहाँ बेच्ने ?’ चिन्तामै रूमल्लिएको छ ।

खप्तडछान्ना गाउँपालिका–६ राजकोट स्थायी घर भएका थापा परिवारले वर्षौँको मेहेनतपछि बगैँचामा फल देखेका थिए । केही वर्षयता नियमित देख्न पाइएको छ । “दिउँसोको उज्यालोमा झुलेको फल देख्न श्रीमान् वीरजनसहित छोराछोरीले हरेक दिन पालो लगाएर निन्द्रा कटाएका छौँ,” उहाँले भन्नुभयो ।

भरूनीका अनुसार बाँदर, भालु, ओध, अरिङ्गाल, बँदेल र चराचुरूङ्गीबाट स्याउ जोगाउनुपर्छ । “वन्यजन्तुले आँखा झिमिक्क, माल गायब भनेजस्तै पारिदिन्छन् । त्यसैले चौबिसै घण्टा चौकीदार बस्नुपर्छ,” उहाँले भन्नुभयो ।

यो समस्या एउटा बगैँचाको मात्रै होइन । खप्तडछान्ना–६ खालीगडामा स्याउ खेती गर्ने दर्जन बढी किसानको पीडा उस्तै छ ।

सोही वडा राजकोटका भीमबहादुर थापाले पनि वर्षभरिको मेहनत आँखै अगाडि खेर गइरहेको देखिरहनुभएको छ । “रातदिन नभनी स्याउकै हेरचाहमा छौँ । झरेर कुहिने र वन्यजन्तुले नोक्सान गरेर आधा भइसक्यो । बेचिने छाँटकाँट छैन,” उहाँ भन्नुहुन्छ ।

जमिन बाँझो नराख्ने उद्देश्यले स्याउ खेती गरेका किसानका लागि उत्पादनभन्दा बजार ठूलो चुनौती बनेको छ । खालीगडाबाट सडक सञ्जाल पुगेको ठाउँसम्म पुग्नै दुई घण्टा पैदल हिँड्नुपर्छ । त्यसपछि पनि किसानले चाहेको समयमा सवारीसाधन पाउँदैनन् । पाए पनि ढुवानी खर्च महँगो छ । यस्तै दुःखको सागरमा रूमल्लिएको छ, खालीगडाको स्याउ ।

“बर्खाको समयमा स्याउ पाक्छ । त्यही समय पहाडी सडक अवरुद्ध हुन्छ । यातायात सञ्चालन नहुने र ढुवानी कठिन हुने भएकाले किसानको उत्पादन बगैँचामै थन्किन्छ,” खप्तडछान्ना–५ का किरण गिरीले सुनाउनुभयो ।

उहाँका अनुसार कृषकले बजारसम्म पुर्याउँदा स्याउको मूल्यभन्दा ढुवानी खर्च महँगो पर्ने अवस्था छ । बाहिरबाट आउने सस्तो स्याउसँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न नसकेको उहाँले बताउनुभयो ।

बाहिरको स्याउले ओगट्यो बजार

बझाङका बजारमा अहिले भारतको हिमाचल प्रदेशको सिम्ला क्षेत्रबाट आउने स्याउ सहजै भेटिन्छ । नेपालकै जुम्ला, मुस्ताङको स्याउ पनि पर्याप्त छ । त्यसको मूल्य प्रतिकिलो करिब रु १५० देखि १७० सम्म पर्छ तर स्थानीय किसानले उत्पादन गरेको स्याउ बजारसम्म पुग्दा त्योभन्दा बढी खर्च लाग्छ ।

उपभोक्ताको घरसम्म पुग्दा स्थानीय स्याउ बाहिरबाट आएको स्याउभन्दा महँगो हुन जान्छ । त्यसपछि किसानसँग सस्तोमा बेच्नु वा बगैँचामै छोड्नुबाहेक विकल्प बाँकी रहँदैन ।

खप्तडछान्ना–६ तिउनेका नरेन्द्र थापा उपभोक्ताले स्थानीय स्याउको गुणस्तर र स्वादलाई प्राथमिकता नदिएको बताउनुहुन्छ । “हाम्रो खालीगडामा विभिन्न जातका निकै स्वादिलो स्याउ छन् तर बगैँचामै प्रतिकिलो रु ८० मा दिन्छुभन्दा पनि किन्न मान्दैनन्,” उहाँले भन्नुभयो, “टाढा बजारसम्म पुर्याउँदा ढुवानी खर्च नै उठ्दैन । त्यहाँ पुर्याए पनि धेरै सस्तो दिनुपर्छ ।”

ठूलो क्षेत्रफलमा खेती गरेर बजार नपाउँदा आफूलाई पछुतो लागेको नरेन्द्र बताउनुहुन्छ । “उत्पादन गरेर मात्र हुँदो रहेनछ । बेच्ने बजार पनि चाहिने रहेछ । लहलहमै गरेको खेतीले उपयुक्त नतिजा दिएन । समय र लगानी व्यर्थै गयो भन्ने लाग्छ,” निराश हुँदै उहाँले आफ्नो व्यथा सुनाउनुभयो ।

“ढुवानी खर्च दिए पनि बोक्ने मान्छे भेटिँदैनन्,” उहाँ भन्नुहुन्छ, “उत्पादन हुने फलफूलको आधा भाग नै कुहिने, सड्ने र वन्यजन्तुको आहारा हुने अवस्था छ । बचेको स्याउले मूल्य नै पाउँदैन ।”

खालीगडाकै कृषक कैलाश खड्काले स्याउबाट आम्दानी गर्ने आशाले ८०० बोट रोप्नुभएको थियो । तीमध्ये करिब ३०० बोटमा लटरम्मै फलेका छन् । बगैँचा स्याउले भरिँदा उहाँलाई खुसी लाग्छ तर स्याउ टिपेर घरमा थुपारेपछि चिन्ता सुरु हुन्छ । “थुप्रिएको स्याउ बेला मौकामा बेचेर छोराछोरी पाल्न, पढाउन मुस्किल देख्छु,” उहाँ भन्नुहुन्छ, “छोरी काठमाडौँ पढ्छे । स्याउकै पछि लाग्दा अहिले उसलाई दिने खर्च पनि उठाउन नसकिने अवस्था भयो । अब विदेशतिर जाने सोचिरहेको छु ।”

गत वर्ष उहाँले ज्याला दिएर डोकामा स्याउ बोकेर बाजुराको काँडा–डोगडीसम्म पुर्याउनुभयो । तर, त्यहाँ पनि स्याउ किन्ने ग्राहक भेटिएनन् । स्याउ लिएर फर्कन सम्भव भएन । “कोदो, मूला, आलुसँग साटेर ल्याएका थियौँ । यो पटक पनि त्यस्तै गर्नुपर्ने छ,” उहाँले भन्नुभयो ।

गाउँघरमा स्याउ किनेर खाने मान्छे नै नभएको उहाँ बताउनुहुन्छ । “हाम्रोतिर गाउँ खालीजस्तै भइसके । खासै मान्छे नै छैनन् । टाढा पु¥याउन सक्ने क्षमता नै छैन । व्यवस्थित रस्टिक स्टोर भए बेसिजनमा पनि बेचिन्थ्यो कि !” उहाँ भन्नुहुन्छ ।

कृषकको सहारा बन्दै आरएसडिसी

कृषकको यही समस्यालाई सम्बोधन गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले स्याउ बजारीकरणको पहल थालेको छ ।

खप्तडछान्ना गाउँपालिकामा सहकारीमार्फत कृषि क्षेत्रमा काम गरिरहेको आरएसडिसीले थोरै भए पनि बजारसम्म पुर्याउने तयारी गरेको आरएसडिसीका कार्यक्रम संयोजक धिरेन्द्र रोकायाले बताउनुभयो ।

रोकायाका अनुसार संस्थाले पहिलो चरणमा १० क्विन्टल स्याउ सङ्कलन गरी धनगढी पु¥याउने छ । किसानलाई सहज होस् भनेर ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्ने उहाँले बताउनुभयो । “सिजनमा सबै ठाउँमा हुन्छ । त्यो मूल्यभन्दा सस्तो दिन सकेमा बजार पाउने आशा रहन्छ । त्योभन्दा बढी भए थन्किन सक्छ,” उहाँले भन्नुभयो ।

पहिलो चरण परीक्षण भएको र यसमा सफलता मिल्यो भने पछि ठूलो परिणाममा पठाउन सकिने उहाँले बताउनुभयो । बजारले माग गरेमा उत्पादनसँगै सङ्कलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण, ढुवानीका लागि सहकारीलाई सशक्त बनाउने र कृषकलाई थप उत्पादनमा डोर्याउने सोचमा संस्था रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij