२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शारदा ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग

शारदा ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग

320
Shares

काठमाडौं – रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितलाई शारदा ग्रुपले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले भीषण बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङ र आसपासका जिल्लाका प्रभावित नागरिकहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग गरेको हो ।

ग्रुपका अध्यक्ष शिवरतन शारदाले सोमबार अर्थ मन्त्रालयमा उपस्थित भई हस्तान्तरण गरेका हुन् । साथै, ग्रुपले तत्काल राहत तथा मानवीय सहयोगका कार्यक्रमहरू समेत अघि बढाएको छ ।

ग्रुपले आफू मातहतका उद्योगहरू पशुपति खाद्य तेल उद्योग प्रा.लि.को नाममा ६१ लाख रुपैयाँ, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रा.लि.को नाममा १५ लाख, प्रिमियर वायर्स प्रा. लि.बाट १५ लाख, प्रिमियर डिस्टिलरी लिमिटेडबाट १० लाख नगद सहयोग गरेको हो ।

यस्तै, आर्थिक सहयोगसँगै शारदा ग्रुपले राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन आवश्यक सामग्री तथा मानवीय सहायता पनि उपलब्ध गराएको छ ।

ग्रुपले गुडलाइफ लगायतका रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुस गरी करिब ६० लाख रुपैयाँबराबरका खाद्य तथा पेय पदार्थ नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

उक्त सामग्री विपद् प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिनेछ ।

त्यसैगरी, प्रभावित जिल्लाहरूमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ ।

यस्तै, शारदा ग्रुपद्वारा प्रवर्द्धित कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै २१ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपद्वारा प्रवर्द्धित शिवम् सिमेन्ट लिमिटेडले पनि प्रभावित क्षेत्रमध्येको एक गाउँको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ ।

विपदबाट घाइते भएका व्यक्तिहरूका लागि आवश्यक रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । यसबाट रक्त बैंक तथा जारी उद्धार र राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शारदा ग्रुपका अध्यक्ष शिव रतन शारडाले भने, “यस दुःखद घटनामा परी आफ्ना परिवार तथा आफन्त गुमाउनुभएका सबैजनाप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । यस कठिन समयमा प्रभावितहरूसँग उभिनु हाम्रो जिम्मेवारी पनि होे ।”

शारदा ग्रुपले विपदबाट प्रभावित सम्पूर्ण व्यक्ति तथा परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा निरन्तर खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

ग्रुपले आगामी दिनमा आवश्यकताअनुसार राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

शारदा ग्रुप नेपालका अग्रणी विविधीकृत व्यावसायिक समूहहरूमध्ये एक हो । ग्रुपको व्यावसायिक संलग्नता व्यापार, उत्पादन, वितरण, लगानी लगायत विभिन्न क्षेत्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij