काठमाडौं – रसुवाको भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख योगदान गरेको छ ।
बाढीका कारण विभिन्न परिवारले घर, जीविकोपार्जनका साधन तथा आफ्ना प्रियजन समेत गुमाएको अवस्थामा कम्पनीले प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ । पुनर्स्थापना तथा पुनर्निर्माणको प्रक्रियामा ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीको भनाइ छ ।
एमएडब्लू ग्रुपका अनुसार, बाढीबाट भएको क्षतिको प्रभाव देशभरका विभिन्न समुदायमा परेको छ । प्रभावित परिवारको पुनर्स्थापनाको यात्रा सहज छैन । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।
योगदानबारे एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले कठिन परिस्थितिमा कम्पनी सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए । उनले बाढी तथा विपद्का कारण भएको मानवीय क्षति कुनै पनि सहयोगले पूर्ति गर्न नसके पनि कठिन समयबाट गुज्रिरहेका परिवारलाई सहयोगले केही राहत प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नेपालले संकटको सामना गरेका विभिन्न कठिन समयमा प्रभावित नागरिकको साथमा उभिँदै आएको एमएडब्लू ग्रुपले जनाएको छ । यसपटकको योगदान पनि त्यही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको कम्पनीको भनाइ छ ।
कम्पनीले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गरेको छ ।
एमएडब्लू ग्रुपले आगामी दिनमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, देशभर राहत तथा उद्धार कार्यमा खटिरहेका सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij