२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग

एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग

285
Shares

काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।

एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टा-छुट्टै रूपमा उक्त सहयोग गरेका हुन्। नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख तथा नेसनल कलेज अफ कम्प्युटर स्टडिज ९एनसीसीएस०ले ४ लाख रुपैयाँ सहयोग गरेका छन्।

विपद्का समयमा प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ। भोटेकोशी बाढीबाट रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि खोज तथा उद्धारसँगै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने अभियान जारी छ।

विगत साढे दुई दशकदेखि नेपालको सूचना प्रविधि तथा व्यवस्थापन शिक्षामा योगदान दिँदै आएको एनसीसीएस ‘क्युएए सर्टिफाइड’ शैक्षिक संस्था हो। पकनाजोलस्थित एनसीसीएस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। उच्च शिक्षा डिग्री प्राप्त गर्ने माध्यम मात्र नभई व्यक्तित्व, नेतृत्व क्षमता र व्यावसायिक दक्षता विकासको आधार बन्नुपर्ने मान्यताका साथ एनसीसीएसले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षामार्फत विद्यार्थीलाई बदलिँदो विश्व बजारका चुनौती सामना गर्न सक्ने सिर्जनशील र दक्ष जनशक्तिका रूपमा विकास गर्दै आएको एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij