२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान, भोटेकोशी–त्रिशूलीमा अझै जोखिम

लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान, भोटेकोशी–त्रिशूलीमा अझै जोखिम

545
Shares
भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

काठमाडौँ- चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन ।

जल विज्ञान तथा अनुसन्धान केन्द्रका अनुसार तिब्बततर्फ मेतेरी पुलबाट करिब १० किलोमिटर माथि लेन्दे खोला थुनिएको अनुमान गरिएको छ । सो स्थानमा बनेको ताल पूर्णरूपमा नखुलेसम्म भोटेकोशी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको केन्द्रका बाढीविद् विनोद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले अर्को सूचना जारी नभएसम्म भोटेकोसी तथा त्रिशूली नदीको आसपास नजान र नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गर्नुभयो । “चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा खुलेको छैन । त्यसैले भोटेकोसी र त्रिशूली क्षेत्रमा जोखिम कायमै छ”, उहाँले भन्नुभयो ।

केन्द्रले नदीको जलसतह तथा माथिल्लो क्षेत्रमा विकसित भइरहेको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । केन्द्रका अनुसार देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ । बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ । केन्द्रको आकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिन्छ । यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ ।

यस अनुसार चितवन र नवलपरासीको क्षेत्रमा डुबान हुने सम्भावना कम छ । तथापि अर्को सूचना जारी नहुँदासम्म नदीको छेउछाउका बस्ती–बजारका बासिन्दाहरू सुरक्षित स्थानमा रहन केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij