नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा यहि भाद्र ९ गतेदेखी १४ गतेसम्म १८ औं नाडा अटो शो हुँदैछ । नाडा ५० वर्ष पुगेको अवसरमा यस वर्ष नाडा अटो शो विशेष पनि रहेको छ । यसै सन्र्दभमा नाडाका महासचिव मिलनबाबु मल्लसंग अर्थ नेपाल डटकमका मनोज थापाले गरेको कुराकानीको सम्पादीत अंश ।
अघिल्ला संस्करणको तुलनामा २०२६ को अटो शोमा के–के नयाँपन थपिएको छ ?
यो वर्षको नाडा अटो शो हाम्रो संस्थाको स्वर्ण जयन्ती वर्षसमेत भएकाले विशेष र ऐतिहासिक छ। त्यसैले हामीले यसलाई केवल गाडी तथा मोटरसाइकल प्रदर्शन गर्ने कार्यक्रमका रूपमा मात्र नभई नेपालको समग्र अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास, प्रविधि र सम्भावना देखाउने प्लेटफर्मका रूपमा अगाडि बढाएका छौँ।
यसपटक ‘Made in Nepal/Made for Nepal’ लाई विशेष प्राथमिकता दिएका छौँ। नेपालमै एसेम्बल भएका सवारीसाधन तथा लुब्रिकेन्ट, ब्याट्री, हेल्मेटलगायत स्वदेशी उत्पादनलाई पनि प्रदर्शन गरिँदैछ। साथै अन्तर्राष्ट्रिय व्यवसायिक पभिलियनको अवधारणा पनि नयाँ थपिएको छ, जसले विदेशी कम्पनी तथा उत्पादकलाई नेपाली व्यवसायी र सम्भावित साझेदारसँग जोड्ने अवसर दिनेछ।
त्यसैगरी, अटोमोबाइल क्षेत्रमा आइरहेको नयाँ प्रविधि, विशेषगरी इलेक्ट्रिक मोबिलिटी, स्मार्ट टेक्नोलोजी, चार्जिङ पूर्वाधार, कनेक्टिभिटी र भविष्यको मोबिलिटीलाई पनि शोको महत्वपूर्ण हिस्साका रूपमा प्रस्तुत गरेका छौँ।
यसपटक कति ब्रान्ड, कम्पनी र मोडलहरूको सहभागिता रहेको छ ?
यसपटक करिब २०० वटा प्रदर्शनी कक्ष रहनेछन्। यात्रुवाहक सवारीतर्फ २३, हलुका व्यावसायिक सवारीतर्फ १७ र दुईपाङ्ग्रे सवारीतर्फ १३ गरी ५३ वटा सवारी ब्रान्डको सहभागिता रहनेछ।
यसका अतिरिक्त वित्तीय तथा बीमा क्षेत्रका करिब १० संस्था र अटो पार्ट्स, टायर, लुब्रिकेन्ट, ग्यारेज इक्विपमेन्ट, एसेसरिजलगायतका क्षेत्रमा करिब ७० स्टल रहनेछन्। करिब ४० वटा नयाँ मोडल सार्वजनिक हुने अपेक्षा पनि गरिएको छ।
यसले एउटै स्थानमा नेपाली उपभोक्ताले नेपालको अटोमोबाइल बजारमा उपलब्ध धेरै किसिमका ब्रान्ड, उत्पादन र प्रविधिलाई प्रत्यक्ष रूपमा तुलना गर्ने अवसर पाउने अवस्था सिर्जना गरेको छ।
उपभोक्ताले यसपटक अटो शोबाट कस्ता नयाँ प्रविधि र उत्पादनको अनुभव गर्न पाउनेछन् ?
यसपटकको मुख्य आकर्षण नै प्रविधि र मोबिलिटीको परिवर्तन हो। इलेक्ट्रिक भेहिकलमा ब्याट्री प्रविधि, चार्जिङ प्रणाली, स्मार्ट कनेक्टिभिटी, ड्राइभिङ असिस्ट सिस्टमलगायत नयाँ प्रविधि देख्न पाइन्छ।
त्यसैगरी, ह्युमनोइड रोबोट र क्वाड्रुपेड रोबोटजस्ता नयाँ प्रविधि पनि विशेष आकर्षणका रूपमा रहनेछन्। यसले अटो शो अब केवल सवारीसाधनको प्रदर्शनी मात्र नभई प्रविधि र भविष्यको मोबिलिटीसँग जोडिएको कार्यक्रम बन्दै गएको देखाउँछ।
उपभोक्ताका लागि अर्को महत्वपूर्ण पक्ष भनेको एउटै ठाउँमा विभिन्न ब्रान्डका उत्पादन हेर्न, तुलना गर्न, मूल्य तथा सुविधाबारे जानकारी लिन र आफ्नो आवश्यकता तथा बजेटअनुसार निर्णय गर्न पाउनु हो।
पछिल्लो समय नेपालको अटोमोबाइल बजारको अवस्था कस्तो देख्नुहुन्छ ?
पछिल्लो समय बजारमा केही सुधारका संकेत देखिए पनि समग्र बजार अझै पूर्ण रूपमा सहज अवस्थामा आइसकेको छैन। ब्याजदर, कर्जा प्रवाह, उपभोक्ताको क्रयशक्ति र समग्र आर्थिक गतिविधिले अटोमोबाइल बजारमा प्रत्यक्ष प्रभाव पार्छ।
तर हामी नेपालको अटोमोबाइल बजारलाई दीर्घकालीन रूपमा निकै सम्भावनायुक्त क्षेत्र मान्छौँ। नेपालमा निजी तथा व्यावसायिक सवारीसाधनको आवश्यकता अझै ठूलो छ। अहिले बजारमा विद्युतीय सवारीसाधनको प्रवेश र नयाँ प्रविधिले थप अवसर सिर्जना गरिरहेको छ।
नाडा अटो शोले पनि बजारमा सकारात्मक मनोविज्ञान निर्माण गर्न, नयाँ उत्पादनबारे जानकारी दिन र व्यवसायी तथा उपभोक्ताबीच प्रत्यक्ष संवाद बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।
EV को बढ्दो बजारले परम्परागत पेट्रोल तथा डिजेल सवारीको बजारमा कस्तो प्रभाव पारेको छ ?
EV को बजार विस्तार हुनु स्वाभाविक रूपमा अटोमोबाइल क्षेत्रमा भइरहेको विश्वव्यापी परिवर्तनको हिस्सा हो। नेपालमा पनि उपभोक्ताले सञ्चालन खर्च, प्रविधि, वातावरणीय पक्षलगायत कारणले विद्युतीय सवारीप्रति आकर्षण बढाइरहेका छन्।
यसले पेट्रोल तथा डिजेल सवारीको बजारमा प्रतिस्पर्धा बढाएको छ। तर यसको अर्थ परम्परागत सवारीसाधनको बजार तत्काल समाप्त हुन्छ भन्ने होइन। विभिन्न उपभोक्ताको आवश्यकता, प्रयोगको प्रकृति, पूर्वाधार र मूल्य क्षमताअनुसार पेट्रोल, डिजेल, हाइब्रिड र EV सबैको आफ्नै बजार रहन्छ।
हाम्रो मुख्य कुरा भनेको सरकारले कुनै एउटा प्रविधिलाई मात्र होइन, उपभोक्तालाई विकल्प दिने र प्रविधिको आधारमा समान तथा स्थिर नीति बनाउने वातावरण तयार गर्नुपर्छ।
अटोमोबाइल क्षेत्रका लागि वर्तमान सरकारी कर तथा राजस्व नीति कत्तिको व्यावहारिक छ ?
नेपालको राजस्वमा अटोमोबाइल क्षेत्रको योगदान महत्वपूर्ण छ। तर कर नीति बनाउँदा राजस्व संकलन मात्र नभई उद्योगको दीर्घकालीन विकास, लगानी, रोजगारी, उपभोक्ताको क्षमता र क्षेत्रीय प्रतिस्पर्धालाई पनि ध्यान दिनुपर्छ।
हाम्रो धारणा स्पष्ट छ—कर तथा राजस्व नीति स्थिर, अनुमान गर्न सकिने र दीर्घकालीन हुनुपर्छ। व्यवसायीले आज लगानी गर्दा केही महिनापछि नीतिमा ठूलो परिवर्तन हुन्छ कि हुँदैन भन्ने अनिश्चितता हुनुहुँदैन।
त्यसैले सरकारले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन औद्योगिक तथा आर्थिक नीतिको हिस्सा बनाएर कर प्रणालीको पुनरावलोकन गर्न आवश्यक छ।
बारम्बार परिवर्तन हुने कर तथा नीतिले व्यवसायी र उपभोक्तामा कस्तो असर पारिरहेको छ ?
नीतिगत स्थिरता व्यवसायका लागि अत्यन्त महत्वपूर्ण विषय हो। अटोमोबाइल व्यवसायमा लगानी ठूलो हुन्छ र सामान आयात गर्नेदेखि बिक्री, सर्भिसिङ, स्पेयर पार्ट्स, चार्जिङ पूर्वाधारलगायत सम्पूर्ण चक्रमा लामो समय लाग्छ।
त्यसैले कर वा नीतिमा अचानक परिवर्तन हुँदा व्यवसायीको लागत तथा लगानी योजनामा असर पर्छ। अन्ततः त्यसको प्रभाव उपभोक्तासम्म पुग्न सक्छ।
हामी सरकारसँग एउटै कुरा आग्रह गर्दै आएका छौँ—नीति परिवर्तन गर्नुपरे पनि पर्याप्त पूर्वसूचना, सरोकारवालासँग छलफल र दीर्घकालीन रोडम्यापसहित परिवर्तन गरिनुपर्छ। स्थिर नीति भयो भने व्यवसायीले पनि ठूलो लगानी गर्न सक्छन् र उपभोक्ताले पनि स्थिर मूल्य तथा उत्पादनको लाभ लिन सक्छन्।
नेपाललाई EV उत्पादन तथा एसेम्ब्लीको हब बनाउन सकिने सम्भावना कत्तिको छ ?
सम्भावना अवश्य छ। नेपालमा जलविद्युत् उत्पादनको ठूलो सम्भावना छ, जसले विद्युतीय मोबिलिटीका लागि आधार तयार गर्छ। साथै नेपालको भौगोलिक अवस्थाले पनि EV प्रयोग र विकासका लागि अवसर सिर्जना गर्न सक्छ।
तर केवल सम्भावना भएर मात्र पुग्दैन। उत्पादन तथा एसेम्ब्ली उद्योगका लागि स्थिर नीति, लगानी सुरक्षा, पूर्वाधार, दक्ष जनशक्ति, भन्सार तथा करमा स्पष्टता, प्रविधि हस्तान्तरण र ठूलो बजार आवश्यक हुन्छ।
नेपालले दीर्घकालीन नीति बनाएर विदेशी कम्पनीसँग प्रविधि तथा लगानी साझेदारी गर्न सकेमा यहाँ एसेम्ब्ली र उत्पादनको वातावरण बनाउन सकिन्छ। त्यसका लागि सरकार र निजी क्षेत्र दुवैले दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्छ।
अटोमोबाइल व्यवसायीहरूले नीतिगत अस्थिरताका कारण ठूलो लगानी जोखिममा परेको गुनासो गर्छन्। यसको जिम्मेवारी सरकारको हो कि व्यवसायीको ?
यो विषयलाई सरकार वा व्यवसायीमध्ये एउटालाई मात्र दोष दिएर हेर्नु उचित हुँदैन। व्यवसायीले पनि बजारको जोखिम मूल्यांकन गरेर लगानी गर्नुपर्छ। तर सरकारले लगानीको वातावरण बनाउने र नीति स्थिर राख्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ।
व्यवसायीले दीर्घकालीन लगानी गर्छ भने उसले निश्चित नीतिगत वातावरणको अपेक्षा गर्नु स्वाभाविक हो। त्यसैले सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा लिएर नीति निर्माण गर्नुपर्छ।
नाडाको भूमिका सरकारलाई दोष दिने मात्र होइन। हामी तथ्य र तथ्यांकका आधारमा सरकारलाई सुझाव दिने, समस्या पहिचान गर्ने र समाधानका लागि सहकार्य गर्ने पक्षमा छौँ। निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण निर्माण भयो भने मात्रै ठूलो लगानी आउँछ र अटोमोबाइल क्षेत्रले दीर्घकालीन योगदान गर्न सक्छ।
अन्त्यमा, अटो शोमा आउने उपभोक्ता र अटोमोबाइल क्षेत्रका लगानीकर्तालाई तपाईंको सन्देश के छ ?
उपभोक्तालाई मेरो पहिलो आग्रह—अटो शोमा आउनुहोस्, विभिन्न ब्रान्ड र प्रविधिबारे जानकारी लिनुहोस् र आफ्नो आवश्यकता तथा आर्थिक क्षमताअनुसार निर्णय गर्नुहोस्। केवल नयाँ मोडल आएको आधारमा होइन, त्यसको मूल्य, सञ्चालन खर्च, सर्भिस, स्पेयर पार्ट्स, ब्याट्री वा अन्य प्राविधिक पक्षसमेत हेरेर सवारी छनोट गर्नुहोस्।
लगानीकर्तालाई मेरो सन्देश भनेको नेपालको अटोमोबाइल क्षेत्रलाई छोटो अवधिको व्यापारभन्दा पनि दीर्घकालीन सम्भावनाको क्षेत्रका रूपमा हेर्नुहोस्। नेपालमा मोबिलिटीको माग बढ्दै जानेछ र प्रविधि पनि तीव्र रूपमा परिवर्तन हुँदैछ।
नाडा अटो शो केवल गाडी बेच्ने वा किन्ने ठाउँ होइन। यो नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, भविष्यको दिशा र नयाँ प्रविधि बुझ्ने साझा प्लेटफर्म हो। त्यसैले उपभोक्ता, व्यवसायी, लगानीकर्ता, सरकार र सबै सरोकारवालालाई यस वर्षको नाडा अटो शोमा सहभागी भएर नेपालको मोबिलिटीको भविष्यबारे संवाद गर्न म हार्दिक आग्रह गर्दछु।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij