२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह– ‘अध्यक्ष, सञ्चालक र सीईओविरुद्धको मुद्दाबारे अपुष्ट सूचनामा विश्वास नगर्नुहोस्’

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह– ‘अध्यक्ष, सञ्चालक र सीईओविरुद्धको मुद्दाबारे अपुष्ट सूचनामा विश्वास नगर्नुहोस्’

680
Shares

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनालाई लिएर फैलिएका अपुष्ट तथा अनुमानमा आधारित सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार सञ्चालन हुँदै आएको नियमित कामकारबाहीका विषयमा बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमाथि मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकका अनुसार उक्त घटनाका कारण बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध सिर्जना भएको छैन। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको भन्दै संस्थाका सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध सञ्चालन भइरहने बैंकले स्पष्ट पारेको छ।

बैंकले आफ्नो सफलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ। साथै, बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय र सहयोगको अपेक्षा गरेको छ।

बैंकले आफ्नो सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन आग्रह गर्दै आधिकारिक सूचना तथा जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरेको छ।

त्यस्तै, बैंकका निक्षेपकर्ता, ग्राहक, शेयरधनी, शुभेच्छुक तथा अन्य सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति बैंकले आभार व्यक्त गरेको छ।

बैंकले पछिल्लो घटनाका कारण सेवा तथा कारोबार प्रभावित नभएको स्पष्ट पार्दै बैंकिङ गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ। साथै, सबै सरोकारवालालाई संयमित रहन र आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij