२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन

युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन

570
Shares

काठमाडौं – नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा आभूषण ज्योति कंसाकार चयन भएका छन्। मञ्चको २२औँ वार्षिक साधारणसभाले कंसाकारलाई अध्यक्षमा चयन गरेको हो।
कंसाकार नेपालको ठूलो ई–कमर्स कम्पनी जीभीका संस्थापक अध्यक्ष तथा देब ज्योति ग्रुपका अध्यक्ष हुन्। देब ज्योति ग्रुपअन्तर्गत विभिन्न क्षेत्रमा ६ वटा कम्पनी सञ्चालनमा रहेका छन्।

साधारणसभाको औपचारिक उद्घाटन सांसद तथा रास्वपाका सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा भएको थियो। सभामा संस्थाको वार्षिक प्रगतिको समीक्षा, वैधानिक प्रतिवेदन अनुमोदन तथा आगामी रणनीतिक प्राथमिकताबारे छलफल गरिएको थियो। साथै, सन् २०२६२०२७ कार्यकालका लागि नयाँ राष्ट्रिय कार्यकारी परिषद् निर्वाचित गरिएको छ।

नयाँ कार्यसमितिको तत्कालीन पूर्वअध्यक्षमा सुदीप त्रिपाठी, प्रथम उपाध्यक्षमा निर्विता प्रधान र द्वितीय उपाध्यक्षमा कृष्ण सापकोटा चयन भएका छन्। कार्यकारी सदस्यमा पवित्रबहादुर गौतम, रिचा श्रेष्ठ, सविन श्रेष्ठ, बिलाशा श्रेष्ठ, अभिमन्यु गोल्छा, तर्कराज भट्ट, दीपिका उपाध्याय सुवेदी, डा. सोनुकुमार र एल्भिस रञ्जित रहेका छन्।

अध्यक्ष कंसाकारसहित नवनिर्वाचित नेतृत्वले आफूहरूमाथि विश्वास गरी जिम्मेवारी प्रदान गरेकोमा सदस्यहरूप्रति आभार व्यक्त गर्दै सदस्यहरूको प्रभावकारी सहभागिता, नवप्रवर्तन, सहकार्य तथा नीतिगत पैरवीमार्फत मञ्चको उद्देश्य र अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

सन् २००३ मा स्थापना भएको एनवाईईएफ नेपालका युवा उद्यमीहरूको अग्रणी संस्था हो। देशका सातै प्रदेशमा रहेका १५ वटा च्याप्टरमार्फत मञ्चले १,२०० भन्दा बढी उद्यमीको प्रतिनिधित्व गर्दै आएको छ। नेतृत्व विकास, नीतिगत पैरवी, व्यावसायिक सञ्जाल विस्तार तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत मञ्चले युवा उद्यमीलाई प्रोत्साहन र सशक्तीकरण गर्दै आएको छ।

साधारणसभामा देशभरबाट आएका सदस्य, च्याप्टर प्रतिनिधि, पूर्वअध्यक्ष, विशिष्ट अतिथि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij