२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६.१८ प्रतिशतले बढ्यो

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६.१८ प्रतिशतले बढ्यो

445
Shares

काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा आफ्नो नाफामा सुधार ल्याउनुका साथै निष्क्रिय कर्जा घटाउन सफलता हासिल गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको खुद नाफा (८ करोड ८ लाख) को तुलनामा ८६.१८ प्रतिशतको वृद्धि हो।

बैंकको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको २३ करोड ४५ लाख रुपैयाँको तुलनामा घटेर २३ करोड ३४ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, बैंकको सञ्चालन नाफा १० करोड ६८ लाख रुपैयाँबाट उल्लेख्य बढेर २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

बैंकले आफ्नो खराब कर्जा १०.६५ प्रतिशतबाट घटाएर ६.१५ प्रतिशतमा झार्न सफल हुनु र पूँजी कोष अनुपात ८.२९ प्रतिशतबाट बढाएर ११.२९ प्रतिशत पुर्‍याउनुले बैंकको जोखिम व्यवस्थापन र वित्तीय सुधार तर्फको यात्रा सफल भइरहेको देखाउँछ।

बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष बढेर ४४ करोड ८० लाख १० हजार ८४७ रुपैयाँ पुगेको छ। बैंकको व्यावसायिक आकारमा उल्लेख्य विस्तार भएको छ। समीक्षा अवधिमा बैंकको कुल निक्षेप ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँबाट वृद्धि भई ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार ८ अर्ब ५० करोड रुपैयाँबाट बढेर १० अर्ब ११ करोड ३० लाख ५६ हजार ७४६ रुपैयाँ पुगेको छ।

नाफामा सुधार आएतापनि विगतको सञ्चित घाटाका कारण बैंक अझै लाभांश बाँड्न सक्ने अवस्थामा पुगिसकेको छैन। अघिल्लो आर्थिक वर्ष ६२ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चित कोष गत आर्थिक वर्ष नाफा कमाएका कारण घटेर ५५ करोड ८८ लाख रुपैयाँ ऋणात्मकमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij