२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

560
Shares
सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै रास्वपाका सभापति लामिछाने काठमाडौँ, १३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुधबार सुनसरी घटनालगायत विषयमा छलफल गर्न सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ- सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य भएकामा जोड दिइएको छ ।

बैठकमा सभापति लामिछानेले विषम परिस्थितिमा राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखेर राष्ट्र हितका खातिर सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग उहाँले बैठक प्रमुख दलका शीर्ष नेताहरूबाट मार्गदर्शन पाउन तथा देशमा असहज परिस्थिति उत्पन्न भएका बेला राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिनुपर्ने र आवश्यकअनुसार सामूहिक रूपमा सरकारलाई ध्यानाकर्षण गराउन आह्वान गरिएको बताउनुभयो ।

उहाँले राजनीतिक रूपमा लड्ने मैदान आ–आफ्ना भए पनि यस्तो विषयमा आरोप–प्रत्यारोप नगरी साझा राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार पनि आफ्ना तर्फबाट क्रियाशील रहेको बताउँदै बैठकमा सरकारको प्रतिनिधित्व अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गर्नुभएकाले सरकारले केही गरेन वा चासो दिएन भन्नु असान्दर्भिक भएको बताउनुभयो ।

“हाम्रो पहिलो दायित्व देशमा शान्ति सुरक्षा कायम गर्ने हो । सरकारले आफ्नो काम गरिरहेको छ । आजको आवश्यकता शान्ति र अमनचयन कायम गर्नु हो । सामाजिक सद्भाव भड्किन नदिन हामी गम्भीर हुनुपर्छ”, सभापति लामिछानेले भन्नुभयो, “नागरिकको ज्यान ज्यानु गम्भीर विषय हो । घटनाको सत्यतथ्य छानबिनपछि सार्वजनिक हुनेछ । अहिले बाहिर आएका कतिपय विषय अफवाह पनि हुन सक्छन् ।”

बैठकमा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गर्ने निर्णय भएको र त्यो यथाशक्य चाँडो सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij