२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

630
Shares

काठमाडौँ- विज्ञापन बोर्डले मुलुकभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिनुपर्ने जनाएको छ ।

बोर्डले आज सूचना जारी गर्दै बोर्डको स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण उल्लेख नगरिएको तथा तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत प्रसारण भएको पाइएको जनाएको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५(ख), विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम (५) तथा विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) अनुसार विज्ञापन सामग्री परीक्षण तथा अनुमति दिने अधिकार विज्ञापन बोर्डमा रहेको छ ।

बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारणअघि अनिवार्य रूपमा परीक्षण गराई अनुमति लिन तथा हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापन सामग्री तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको हो ।

प्रचलित कानुनविपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउन भनिएको छ । कानुनी व्यवस्था उल्लङ्घन गरी विज्ञापन प्रसारण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij