२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से वेबसाइटमा फरक–फरक सूचकाङ्क देखिएपछि लगानीकर्ता अन्योलमा

नेप्से वेबसाइटमा फरक–फरक सूचकाङ्क देखिएपछि लगानीकर्ता अन्योलमा

760
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा शुक्रबार साँझ देखिएको प्राविधिक समस्याले लगानीकर्तामा अन्योल र चिन्ता बढाएको छ।

शुक्रबारको नियमित कारोबार ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा बन्द भएको थियो। तर बजार बन्द भएको केही मिनेटपछि नेप्से वेबसाइटमा परिसूचक अचानक १,७१७.७९ बिन्दुमा झरेको देखियो, जुन करिब ३७ प्रतिशतको अस्वाभाविक गिरावट हो।

त्यसपछि नेप्सेको वेबसाइटमा “Maintenance” भइरहेको सूचना देखिन थालेको छ। यद्यपि वेबसाइट पुनः खोल्दा कहिले नियमित परिसूचक, कहिले फरक अंक र कहिले मेन्टेनेन्सको सूचना देखिने अवस्था रहेकाले लगानीकर्तामा थप अन्योल उत्पन्न भएको छ।

यस घटनाले नेप्सेको प्रणालीमा प्राविधिक समस्या आएको अनुमान गरिएको भए पनि समाचार तयार पार्दासम्म नेप्सेले यस विषयमा कुनै आधिकारिक स्पष्टीकरण सार्वजनिक गरेको छैन।

शेयर बजारसँग सम्बन्धित सूचनाको विश्वसनीयता अत्यन्त संवेदनशील हुने भएकाले यस्ता प्राविधिक समस्याले लाखौं लगानीकर्तामा अनावश्यक तनाव र भ्रम सिर्जना गर्ने गरेको छ। लगानीकर्ताले नेप्सेसँग तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्दै प्रणालीलाई स्थायी रूपमा सुधार गर्न माग गरेका छन्।

प्राविधिक समस्या समाधान नभएसम्म नेप्से वेबसाइटमा देखिएका असामान्य सूचकाङ्कलाई आधिकारिक कारोबारको परिणामका रूपमा नलिन पनि बजारका जानकारहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij