क्यानाडा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेयरी, मादक पेय पदार्थ र मोटर सवारीसँग सम्बन्धित केही क्यानाडाली वस्तुमा थप ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले त्यसको कडा विरोध गर्नुभएको छ । उहाँले उक्त कदमलाई क्यानाडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौता (सियुएसएमए) को उल्लङ्घन भएको बताउँदै क्यानाडाले आफ्ना कामदार, किसान, व्यवसाय र परिवारको हित संरक्षण गर्न आवश्यक सबै कदम चाल्ने स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जाल एक्समार्फत जारी गर्नुभएको वक्तव्यमा अमेरिकाले पछिल्लो समय एकपक्षीय व्यापारिक कदमहरू लगातार चाल्दै आएको र तिनले सियुएसएमएअन्तर्गत स्थापित स्वतन्त्र व्यापारको आधारभूत मर्मलाई कमजोर बनाएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार विशेषगरी क्यानाडाको अटोमोबाइल क्षेत्रमा लगाइएको अतिरिक्त शुल्क सम्झौताविपरीत छ ।
उहाँले क्यानाडाले आफ्नो अधिकार प्रयोग गर्दै अमेरिकाले अपनाएका व्यापारिक कदमको अनुपातमा मात्रै जवाफी उपाय अवलम्बन गरेको स्पष्ट पार्नुभयो ।कार्नीले अमेरिकाको पछिल्लो निर्णयपछि सम्पूर्ण क्यानाडाली नागरिक एकताबद्ध भएर देशको अर्थतन्त्रलाई सुदृढ बनाउन र राष्ट्रिय हितको रक्षा गर्न अग्रसर भएको बताउनुभयो । उहाँले सङ्घीय सरकार, प्रान्त र क्षेत्रीय प्रशासनबीच समन्वय गर्दै श्रमिक, किसान, व्यवसायी र परिवारलाई संरक्षण गर्ने नीति निरन्तर अघि बढाइने जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो १८ महिनायता अमेरिकाले सियुएसएमएअन्तर्गतका व्यापारिक सम्बन्धमा निरन्तर परिवर्तन गर्दै आएको छ । त्यसलाई दृष्टिगत गर्दै क्यानाडाले व्यापारिक विवाद समाधान गर्ने तथा सम्झौतालाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यले व्यापक प्रस्ताव अमेरिकासमक्ष राखिसकेको छ । आउँदा केही सातामा दुवै देशबीच यस विषयमा वार्ता थप तीव्र बनाइने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्नीले क्यानाडा स्वतन्त्र, निष्पक्ष र नियममा आधारित व्यापार प्रणालीप्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै आफ्नो सरकारले हालै २० भन्दा बढी नयाँ आर्थिक तथा सुरक्षा साझेदारी सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान व्यापार विवादका कारण विशेषगरी अमेरिकी उपभोक्ताले बढी मूल्य चुकाउनुपरेको दाबी गर्दै दुवै देशका नागरिकको साझा हितका लागि बाँकी विवाद समाधान गर्न क्यानाडा रचनात्मक संवादका लागि तयार रहेको बताउनुभयो ।
“जुनसुकै परिस्थिति आए पनि क्यानाडाले आफ्नो आन्तरिक आर्थिक क्षमता सुदृढ बनाउन, क्यानाडाली कामदार, किसान, व्यवसाय र परिवारलाई सहयोग गर्न आवश्यक कदम चालिरहनेछ”, उहाँले भन्नुभयो ।
अमेरिकी प्रशासनले सोमबार स्थानीय समयअनुसार डेयरी, मादक पेय पदार्थ र मोटर सवारी क्षेत्रमा अमेरिकी उत्पादनमाथि क्यानाडाले गरेको ‘भेदभावपूर्ण व्यवहार’ को प्रत्युत्तरस्वरूप केही क्यानाडाली वस्तुमा थप ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो । उक्त निर्णय राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको घोषणापत्र जारी भएको ३० दिनपछि कार्यान्वयनमा आउने जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij