
अर्थ नेपाल संवाददाता
काठमाडौं / मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलले नेकपा (एमाले)सँग चुनावी गठबन्धन गरेको छ ।
अब परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने छन्। त्यसैगरी सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख छ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको तीनबुँदे सहमतिपत्रमा ओली र परिवार दलका अध्यक्ष ढकालले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार संसद् बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने छ भने संसदभित्र एमालेले ह्विप जारी गरेको विषयबाहेक अन्यमा परिवार दलका प्रतिनिधिले स्वतन्त्र ढंगबाट आफ्ना तथा पार्टीको विचार राख्न सक्नेछन्।
साथै एमाले गठबन्धनमा रहेका सबै पार्टीका उम्मेदवारलाई विजयी गराउन परिवार दल केन्द्रदेखि प्रदेश तहसम्म क्रियाशील रहने सहमतिमा उल्लेख छ।
सहमति पछि बोल्दै परिवार दलका अध्यक्ष एकनाथ ढकालले दुई पार्टीबीचको सहमति राष्ट्र र जनताको आवश्यकतानुसार भएको भन्दै राष्ट्रियता बलियो बनाउँदै मुलुकको तीव्र आर्थिक विकास गर्ने लक्ष्य रहेको बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij