काठमाडौं – सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले शेयर अभौतिकीकरण अर्थात डिम्याट खातामा जम्मा गराउनका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) सँग सम्झौता गरेको छ । असार २९ गते कम्पनीले कुल ३४ लाख कित्ता शेयर डिम्याट खातामा जम्मा गर्नका लागि सिडिएससीसँग सम्झौता गरेको जानकारी सिडिएससीले दिएको हो ।
यस कम्पनीले सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन तथा बाँडफाँटपछि दोस्रो बजारमा सूचीकरण हुने तयारी गरेको हो । सिडिएससीसँगको सम्झौतापछि कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता गर्नेछ । कम्पनीका अनुसार यसै साताभित्र नेप्सेमा पनि सूचीकरण सम्झौता गर्ने तयारी रहेको छ ।
यस कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोमा सोही बमोजिम निष्कासन गरेको हो । ५० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी भने ३४ करोड रुपैयाँ छ ।
संस्थापक तर्फबाट चुक्ता भएको पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेकोमा सर्वसाधारणतर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्तापूँजी ३४ करोड रुपैयाँ कायम भएको छ । कुल पूँजीमा संस्थापक तर्फ ७५ प्रतिशत र सर्वसाधारणतर्फ २५ प्रतिशत शेयर स्वामित्व कायम भएको छ । यो कम्पनी पेन्ट उत्पादन कम्पनी हो । कम्पनीले बाहिरी तथा भित्रि वालका इमल्सन तथा इनामेल पेन्टहरू विक्री वितरण गर्दै आएको छ । कैलाली जिल्लामा उद्योग सञ्चालनमा रहेको कम्पनीले अत्याधुनिक पेन्ट ल्याब स्थापना गरी प्रत्येक वर्ष आफ्नो कुल आम्दानीको केही हिस्सा अनुसन्धान तथा विकासमा खर्च गरेको बताएको छ । जसले गर्दा उत्पादित पेन्टको गुणस्तमार एकरुपता कायम भएको भनाई कम्पनीको छ । यस कम्पनीमा सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको ९ करोड २७ लाख रुपैयाँभन्दा बढी लगानी रहेको छ । कम्पनी व्यापार विस्तारको चरणमा रहेकाले आगामी दिनमा सकारात्मक प्रतिफल हुने अपेक्षा कम्पनीले गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij