२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेची इन्डस्ट्रिज र भारतको लक्ष्मी इन–फ्याबबीच सम्झौता

मेची इन्डस्ट्रिज र भारतको लक्ष्मी इन–फ्याबबीच सम्झौता

690
Shares

काठमाडौं- नेपालको एएसी (अटोक्लेभ्ड एरेटेड कंक्रिट) ब्लक उत्पादन उद्योगमा नयाँ उपलब्धि हासिल भएको छ। नेपालको अग्रणी एएसी ब्लक उत्पादक मेची इन्डस्ट्रिज लिमिटेड र भारतको प्रविधि प्रदायक कम्पनी लक्ष्मी इन–फ्याब प्राइभेट लिमिटेडबीच उत्पादन क्षमता विस्तारका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार मेची इन्डस्ट्रिजले आफ्नो एएसी ब्लक उत्पादन क्षमता प्रतिमहिना थप ५ हजार घनमिटरले वृद्धि गर्नेछ। उत्पादन क्षमता विस्तारसँगै कम्पनीले दीर्घकालीन व्यावसायिक रणनीतिअनुसार मोर्टार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ तथा वाल पुट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरण खरिद गर्ने निर्णयसमेत गरेको जनाएको छ।
कम्पनीका अनुसार यसका लागि सम्बन्धित आपूर्तिकर्तासँग खरिद सम्झौतासमेत सम्पन्न भइसकेको छ। यो साझेदारीले अत्याधुनिक प्रविधि, उत्पादन क्षमता विस्तार तथा दिगो औद्योगिक विकासलाई थप मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीले नवीनता, विश्वसनीयता र दीर्घकालीन सहकार्यमार्फत निर्माण क्षेत्रको भविष्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ। साथै, यस सहकार्यले नेपाल–भारतबीचको औद्योगिक सम्बन्धलाई अझ सशक्त बनाउने विश्वाससमेत व्यक्त गरिएको छ।

यसैबीच, मेची इन्डस्ट्रिजले आफ्नो व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने क्रममा तीन वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ।

कम्पनीले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीअन्तर्गत आईएसओ १४००१ः२०१५ तथा व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत आईएसओ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरेको जनाएको छ।

कम्पनीका अध्यक्ष पवन घिमिरेले यी प्रमाणपत्रले उत्पादनको गुणस्तर, संस्थागत सुशासन, वातावरणीय उत्तरदायित्व तथा कर्मचारीको स्वास्थ्य र सुरक्षाप्रतिको कम्पनीको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाएको बताए।

उनले आगामी दिनमा पनि निरन्तर सुधार, वातावरणमैत्री औद्योगिक अभ्यास, नवप्रवर्तन तथा गुणस्तरीय उत्पादनमार्फत राष्ट्रिय औद्योगिक विकासमा योगदान पुर्‍याउने अग्रणी नेपाली उद्योगका रूपमा स्थापित हुने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij