२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शुभ इन्टरनेशनल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने

शुभ इन्टरनेशनल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने

635
Shares

काठमाडौं – शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।

यससम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी तथा सञ्चालक प्रशान्त तातेडको पनि उपस्थिति रहेको थियो।

आईपीओ निष्काशनको तयारीसँगै कम्पनीले पूँजी विस्तार गर्दै आफ्नो व्यावसायिक गतिविधि थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

शुभ इन्टरनेशनल हस्पिटालिटीले विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालन गर्दै आएको छ। भारतको प्रतिष्ठित होटल व्यवस्थापन समूहसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित उक्त होटल विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमलाई लक्षित गर्दै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गरिरहेको छ। आधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय सेवा मापदण्ड तथा व्यावसायिक व्यवस्थापनमार्फत पूर्वी नेपालको पर्यटन, आर्थिक गतिविधि र आतिथ्य उद्योगको विकासमा योगदान पुर्‍याउने लक्ष्य कम्पनीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij