२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट

कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट

510
Shares

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । प्रदेश सभाको आज बसेको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आगामी आवका लागि रु. ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ रु. २० अर्ब ७४ करोड ६७ लाख १२ हजार र चालुतर्फ रु. आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार विनियोजन गरिएको उनले बताए । यो बजेट चालु आर्थिक वर्षको तुलनामा सात दशमलव २८ प्रतिशतले वृद्धि भएको हो ।

योजना मन्त्री शाहका अनुसार वित्तीय व्यवस्थापनतर्फ रु. ५० करोड, स्थानीय तहमा वित्तीय हस्तारणतर्फ रु. पाँच अर्ब ५४ करोड ७२ लाख ८० हजार रकम विनियोजन गरिएको छ ।

आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रु. ८५ करोड पाँच लाख ९० हजार र चालु आवको खर्च नभई बचत हुने रकम रु. छ अर्ब ४१ करोड ५१ लाख नौ हजार, सङ्घीय सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त हुने रकम रु. १० अर्ब ६६ करोड ५० लाख ४९ हजार विनियोजन गरिएको छ । वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु. १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट रु पाँच अर्ब ६७ करोड २५ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रु. ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फ रु ४८ करोड ५६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

सङ्घीय सरकारबाट सशर्त अनुदानबाट प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि अपुग रकमबाट स्रोत परिचालन गरिने योजना मन्त्री शाहले जानकारी दिए। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु. ३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij