२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकका सिईओलाई राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

बैंकका सिईओलाई राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

810
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। केन्द्रीय बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण विभागले वार्षिक कार्यक्रमअन्तर्गत सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी एक दिने विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।

मुलुकको वित्तीय प्रणालीलाई अवैध कारोबारबाट सुरक्षित राख्ने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मंगलबार आयोजित उक्त कार्यक्रम विभागमा सबै बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र सञ्चालकहरूको सहभागी छन्। साथै, कार्यक्रममा राष्ट्र बैंकका अधिकांश विभागका प्रमुख र गभर्नर डा विश्वनाथ पौडेलको उपस्थिति रहेको छ।

कार्यक्रममा विभागका उच्च अधिकारीहरूले वित्तीय क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसलाई न्यूनीकरण गर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरू र सञ्चालकहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे स्पष्ट पारेका थिए।

प्रशिक्षणका क्रममा सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण विभागका तर्फबाट प्रस्तुत कार्यपत्रहरूमा शंकास्पद कारोबारको प्रभावकारी अनुगमन, ग्राहक पहिचानको गम्भीरता र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

विशेषगरी अन्तर्राष्ट्रिय वित्तीय कार्यदल (एफएटिएफ)को मापदण्ड पालना नगर्दा मुलुकको अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक असर र ‘ग्रे लिस्ट’ को जोखिमबारे सीईओहरूलाई सचेत गराइएको थियो।

विभागले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत बैंकहरूका नेतृत्व तहलाई नै प्रत्यक्ष रुपमा प्रशिक्षित गराएको यो पहिलो पटक होइन। तर, यस पटक पार्क भिलेजमा आयोजित अन्तरक्रियामा व्यवहारिक चुनौती र कानुनी कार्यान्वयनका पक्षमा बढी केन्द्रित रहन सीईओहरूलाई निर्देशन दिइएको छ।

सहभागी सीईओहरूले राष्ट्र बैंकको यो सुपरीवेक्षकीय सक्रियताले बैंकिङ क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। वार्षिक कार्यक्रमको हिस्साका रुपमा सञ्चालित यस अन्तरक्रियामा सीईओहरूले बैंकहरूले भोग्दै आएका व्यवहारिक समस्या र कानुनी जटिलताबारे जिज्ञासा राखेका थिए।

उनीहरूले प्रविधिको प्रयोग र जनशक्ति विकासका माध्यमबाट सम्पत्ति शुद्धीकरण निवारणका प्रयासहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij