काठमाडौं – भविष्यका लक्ष्यहरूलाई योजनाबद्ध रूपमा पूरा गर्न सहयोग पुर्याउने उद्देश्यसहित सिद्धार्थ बैंकले ‘सिद्धार्थ गोल सेभर अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । यो आकर्षक बचत खाता योजना बैंकले सानो–सानो बचतमार्फत ग्राहकलाई आफ्नो आर्थिक सपना साकार पार्न सहयोग पुर्याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
अधिकांश मानिसको चाहना राम्रो शिक्षा, आफ्नै घर, विदेश भ्रमण वा अन्य व्यक्तिगत योजनाहरू हुन्छन् । तर, ती सपना योजनाबद्ध र व्यवस्थित बचतको अभावमा अधुरै रहने गर्छन् । उसो त कमाइ मात्र ठूलो कुरा होइन, कमाइको सही सदुपयोग, नियमित बचत र आवश्यकतामा सोको प्रयोग निकै महत्त्वपूर्ण कुरा हो । यही महत्त्वलाई जोड दिँदै सिद्धार्थ बैंकले योजनाबद्ध र दीर्घकालीन सोचसहितको बचत योजना ‘गोल सेभर एकाउन्ट’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
खाताको आकर्षण र योजना
बैंकका अनुसार बचत खाता भएका सबै व्यक्तिगत ग्राहकले यो सुविधा सहजै उपयोग गर्न सक्नेछन् । ग्राहकले न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म मासिक बचत गर्न सक्ने व्यवस्था गरिएको छ ।
साथै, बचतकर्ताले बचतको अवधिलाई न्यूनतम १ वर्षदेखि १० वर्षसम्मको अवधि छनोट गर्न सक्नेछन्, जसले छोटो तथा दीर्घकालीन दुवै प्रकारका वित्तीय लक्ष्य पूरा गर्न योजना उपयोगी हुने बैंकको विश्वास छ । बैंकले प्रकाशित गरेको एक वर्षे मुद्दती निक्षेपको ब्याजदर अनुसार यस बचत खातामा आकर्षक ब्याजदरसमेत प्रदान गरिन्छ । हाल बैंकको एक वर्षे मुद्दती निक्षेपमा ३.२५ प्रतिशत ब्याजदर रहेको छ ।
विशेषता/सुविधा
यस योजनाको प्रमुख आकर्षण पूर्ण डिजिटल सुविधा हो । ग्राहकले बैंक शाखामा उपस्थित नभई घरमै बसेर आफ्नै मोबाइल बैंकिङ एपमार्फत खाता खोल्न, बचत र कर्जाको अवधि निर्धारण गर्न तथा बचत व्यवस्थापन गर्न सक्नेछन् ।
योजनामा स्वचालित रिमाइन्डर, स्ट्यान्डिङ इन्स्ट्रक्सनमार्फत नियमित रकम कटौति तथा अवधि पूरा भएपछि बचत रकम स्वतः खातामा जम्मा हुने सुविधा पनि समावेश गरिएको छ । यसले ग्राहकलाई नियमित बचत गर्न थप सहज बनाउने बैंकको अपेक्षा छ ।
सेवाग्राहीले यस योजनामा सहभागी हुन अर्थात् सिद्धार्थ गोल सेभर एकाउन्ट खोल्न मोबाइल बैंकिङ एपमा लगइन गरी इजीबैंकमार्फत गोल सेभर विकल्पमा गई सहजै खाता खोल्न सक्नेछन् ।
आफ्नो गोल सेट गरी बचत गर्ने तरिका रोजेर आफ्नो विवरण पुष्टि गरेर यो खातामा तुरुन्त बचत सुरु गर्न सकिन्छ । बैंकले ‘सिद्धार्थ गोल सेभर एकाउन्ट’ लाई केवल बचत उत्पादन नभई ग्राहकको आर्थिक लक्ष्य हासिल गर्ने सहयात्रीका रूपमा प्रस्तुत गरेको जनाएको छ । सानो रकमबाट सुरु हुने नियमित बचतले भविष्यका ठूला सपना पूरा गर्न मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij