२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरि

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरि

590
Shares

काठमाडौँ – सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने तथा स्वास्थ्य शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने नीति अघि सारेको छ। यसका लागि नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रमुख स्वास्थ्य शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरका अध्ययन, अनुसन्धान र चिकित्सा शिक्षाका केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अत्यावश्यक औषधिको स्वदेशी उत्पादन बढाउन नेपाल औषधि लिमिटेडलाई सुदृढ बनाइने जानकारी दिए। बजेटअनुसार विश्व स्वास्थ्य संगठनले प्राथमिकतामा राखेका अत्यावश्यक औषधिमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने क्षमता विकास गरिनेछ।

सरकारले यस व्यवस्थामार्फत औषधि आपूर्तिमा आत्मनिर्भरता अभिवृद्धि गर्ने, स्वास्थ्य क्षेत्रमा आवश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने तथा आयातमा निर्भरता क्रमशः घटाउने लक्ष्य लिएको जनाएको छ।

स्वास्थ्य शिक्षातर्फ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थाका रूपमा विकास गरिने घोषणा गरिएको छ। यी संस्थालाई चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, अनुसन्धान तथा नवप्रवर्तनका केन्द्रका रूपमा रूपान्तरण गर्दै विदेशी विद्यार्थीलाई समेत अध्ययनका लागि आकर्षित गर्न सक्ने क्षमता विकास गरिने बजेटमा उल्लेख छ।

सरकारले स्वास्थ्य शिक्षाको गुणस्तर सुधार, अनुसन्धान प्रवर्द्धन तथा दक्ष जनशक्ति उत्पादनमार्फत नेपाललाई क्षेत्रीय स्वास्थ्य शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउँदै अध्ययन र अनुसन्धानका अवसर विस्तार गर्ने नीति पनि बजेटले अघि सारेको छ।

औषधि उत्पादन र स्वास्थ्य शिक्षामा प्रस्तावित यी कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि, गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार तथा स्वदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij