२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आर्थिक वर्ष २०८३/८४ को बजेट आज

आर्थिक वर्ष २०८३/८४ को बजेट आज

910
Shares

काठमाडौं – नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधान २०७२ अनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही संवैधानिक व्यवस्थाअनुसार सरकारले आज नयाँ बजेट सार्वजनिक गर्न लागेको हो ।

चालु आर्थिक वर्षमा देखिएको आर्थिक शिथिलता, कमजोर पुँजीगत (विकास) खर्च, घट्दो उपभोग, निर्माण क्षेत्रको सुस्तता तथा निजी क्षेत्रको खस्किएको मनोबललाई उकास्ने चुनौती सरकारसामु रहेको छ । यही कारण आगामी बजेटले उत्पादन, रोजगारी, लगानी विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने दिशामा कस्तो नीति तथा कार्यक्रम ल्याउँछ भन्ने विषयमा सर्वसाधारणदेखि व्यवसायी र लगानीकर्तासम्मको चासो बढेको छ ।

विशेषगरी निजी क्षेत्रलाई राहत, बैंक ब्याजदर स्थिरता, पूर्वाधार विकास, कृषि तथा पर्यटन प्रवर्द्धन, ऊर्जा, सूचना प्रविधि र रोजगारी सिर्जनामा बजेटले कस्तो प्राथमिकता दिन्छ भन्ने विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । साथै, राजस्व संकलनको चुनौती र बढ्दो सार्वजनिक ऋण व्यवस्थापन पनि सरकारका लागि मुख्य परीक्षा बन्ने देखिएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो । यसअघि यही वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij