काठमाडौं -नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको कार्यसमय, अतिरिक्त पारिश्रमिक (ओभरटाइम) तथा अपाङ्गमैत्री बैंकिङ सेवासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले कार्यालय समयभन्दा बढी काम गराउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकले जारी गरेको संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून र निर्देशनबमोजिम मात्रै काममा लगाउनुपर्नेछ। साथै, कार्यालय समयभन्दा बाहिर काममा खटाइएमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्ने र कर्मचारीलाई जबर्जस्ती ओभरटाइम काम गर्न बाध्य पार्न नपाइने उल्लेख गरिएको छ।
त्यसैगरी, राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिन निर्देशन दिएको छ। यस्ता सेवाग्राहीका लागि विशेष काउण्टर तोकी सेवा दिनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। त्यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
यस्तै, बैंकहरूले आपसी सहकार्यमा एटिएम लाउञ्ज भएका स्थानमा ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एउटा अपाङ्गमैत्री एटिएम राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। त्यस्ता एटिएमको विवरणसमेत सम्बन्धित संस्थाले वेबसाइटमा राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्तिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएमजस्ता डिजिटल वित्तीय सेवा स्वयं प्रयोग गर्न सक्ने स्वघोषणाको आधारमा सेवा उपयोग गर्न सक्ने व्यवस्था समेत गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij