काठमाडौं– लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एलएस होराइजन १२ को इकाई खरिदका लागि आवेदन दिने आज (जेठ ६ गते) अन्तिम दिन रहेको छ।
क्यापिटलले सो योजनाको इकाई खरिदका लागि जेठ १३ गतेसम्म अवधि थप गरेपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग अवधिपश्चात निष्काशन बन्द गर्न लागेको हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
निष्काशन गरिएको कुल १२ करोड इकाईमध्ये बिज पूँजीबापत १ करोड ८० लाख इकाई कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त योजनामा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij