काठमाडौं– पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । दुई कम्पनीबीच एक आपसमा गाभ्ने/गाभिने वा मर्जरका लागि राष्ट्र बैंकले वैशाख २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।
हाल पोखरा फाइनान्सको कायम चुक्तापूँजी १ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समृद्धि फाइनान्सको चुक्तापूँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड १४ लाख रुपैयाँ पुग्नेछ ।
प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम पोखरा फाइनान्स नै रहने छ । मर्जर पछि केन्द्रीय कार्यालय पोखरा मै रहने छ भने कर्पोरेट कार्यालय काठमाडौँमा रहने छ।
मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश गुरुङ बन्ने सहमति भएको छ । कर्मचारी व्यवस्थापन आन्तरिक रूपमा भइरहेको कम्पनीले जनाएको छ । कर्मचारीहरू हाल जुन पदमा छन्, सोही पदमा रहने र सेवा-सुविधामा कुनै कटौती नहुने स्पष्ट पारिएको छ ।
कर्मचारी संख्या करिब ३ सय पुग्नेछ, जसमा पोखरा फाइनान्सका करिब २ सय र समृद्धिका करिब १ सय कर्मचारी समाहित हुनेछन् । मर्जरपछि शाखा सञ्जाल ३६ वटा पुग्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij