काठमाडौं – रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आज वैशाख २९ गतेदेखि सामुहिक लगानी कोषको इकाई निष्काशन गरेको छ । क्यापिटलले रिलायबल समुहिल लगानी कोष अन्तर्गत संचालन हुने रिलायबल समृद्धि योजना २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो ।
यस योजनाको आकार १ अर्ब रहेको छ। यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको छ। जस मध्ये कोष प्रबर्दक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा छिटोमा जेठ १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने छ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटि ४ प्लस रेटिङ्ग प्रदान गरेको छ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij