२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अस्तित्वको दोसाँधमा ‘नेपाल’

अस्तित्वको दोसाँधमा ‘नेपाल’

2.7K
Shares

डा. तुलसी उप्रेती

सदियौंदेखि सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणको आधारमा नेपाल र भारत ज्यादै निकट रही आएका छन्। तर आर्थिक क्षेत्रमा भने नेपालले वर्षौंदेखि धेरै पीडा  कष्ट भोग्दै आएको छ। नेपालले आर्थिक क्षेत्रमा भोग्नु परेको पीडा, वाधा र अड्चन साथै नेपालले आर्थिक विकासको गतिलिन नसक्नु र यहाँ राजनीतिक स्थिरता हुन नसक्नुका कारण मध्ये भारतीय सरकारको नीति र व्यवहारलाई आरोप लगाउने चलन छ।

यो सोचाई र भनाईमा केही तथ्य अवश्य छ। तर नेपालले भोग्नु परेका आर्थिक र राजनीतिक पीडाको मुख्य दोषी त अनैतिक, भ्रष्ट, लोभी, अनुत्तरदायी र राष्ट्रघाती सोच बोकेका नेपाली नेता र प्रशासकनै हुन्। त्यसैले भारतलाई मात्रै दोष लगाएर नेपाली नेताहरु पन्छिन सक्दैनन्। नेताका अकर्मन्यता र लोभी मानसिकताको कारण नेपाली जनताले विभिन्न स्रोतहरुको धनि भएर पनि आजका दिनसम्म गरिब, दरिद्र र दुर्वल भएर बसिरहनु पर्यो। भारतले त आफ्नो देश र जनताको स्वार्थपूर्तिका लागि आफ्नै प्रकारको सन्धि र सम्झौता गर्छ। आफूलाई सक्दो फाइदा उठाउने र लाभ हुनेगरी बाटा बनाउँछ, बाँध, नहर बनाउँछ, विदेशी आर्थिक र व्यापारिक कारोबारबाट अत्यधिक फाईदा उठाउन खोज्छ।

नेपालका नेता सक्षम, नैतिक र राष्ट्रवादी भएका भए झिँगा महमा डुबेजस्तो विदेशीले चटाएको गुलियोमा लोभिएर र भुलिएर देशका नदीनाला बेच्ने थिएनन् होला। भारतले अवैध रुपमा बाँध, तटवन्धन बनाएर नेपाली जमिन डुबाउँदा र विभिन्न ठाउँमा नेपाली भूमि अतिक्रमण गर्दा चुप लागेर नेपालको दूरदर्शा हेरेर मात्रै बस्ने थिएनन् होला। त्यसैले नेपालले आर्थिक पीडा भोग्नुको मुख्य कारण भ्रष्टचारी, अनैतिक र अनुत्तरदायी नेपाली नेता र प्रशासकहरु नै हुन र उनीहरुनै दोषी छन्। यहाँ केहीहद्सम्म “आफ्नो थैलीको मुख राम्ररी बाँध्नु तर अरुलाई दोष नलगाउँनु” भन्ने नेपाली उखान सार्थक हुन्छ।

कोशी, गण्डक बाँधहरुको अवस्था हाम्रै नेताको अनैतिक व्यवहारको उपज हो। विश्वको अगाडी नेपाललाई मगन्ते बनाउने, दरिद्री बनाउने, हाँस्यको पात्र र असक्षम बनाएर देखाउने पनि यिनै आर्थिक र राजनीतिक चरित्र नभएका नेता र प्रशासकहरुको काम हो। अरुलाई दोष दिनुका सट्टो यो देशका जनताले अब नयाँ पुस्तका इमान्दार र राष्ट्रवादी नेता खोज्नै पर्छ।

नेपाल र भारत बीचको पारस्परिक पराष्ट्र नीति र एक अर्कापट्टिको सम्बन्धले नेपालको साथै केही हद्सम्म भारतको पनि राजनीतिक स्थिरता, आर्थिक विकास र सम्वृद्धिका साथै यो क्षेत्रको शान्ति र सुरक्षामा प्रत्यक्ष र परोक्ष असर पर्ने हुनाले नेपाल भारत र चीनको बीचमा अवस्थित भएर दुवै देशहरुसँग सन्तुलित, सहिष्णुता, सद्भाव हित र सदाचारले पूर्ण भएको मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छ।

भारतले नेपाल प्रति अपनाएका विगतका नीति र क्रियाकलापका आधारमा भन्ने हो भने यथा स्थितिमा नेपालको हित र कल्याण भएकै छैन र यो भईरहेको स्थितिलाई परिवर्तन गर्न हाम्रा नेताहरु कतिको ईच्छुक, सक्षम र राष्ट्रवादी बनेर यो देशको जनताको स्वार्थपूर्ति गर्छन त्यसैमा भर पर्छ। यथास्थितिमा चलिरहेको नेपाल र भारत बीचको गतिविधि र सम्बन्धमा नेपाली जनताले के चाहन्छन् र के चाहदैनन् ? नेपाल एउटा सार्वभौम देशका नाताले छिमेकी राष्ट्रबाट नेपालीहरुले के अपेक्षा गर्छन त ?

*  सर्व प्रथम भारतका शासक र प्रशासकहरुमा नेपाल एउटा सार्वभौम छिमेकमा रहेको देश हो र नेपालप्रति मैत्रीपूर्ण परराष्ट्र नीति अपनाउनुमा नै दुवै देशको दिर्घकालिन कल्याण र अन्तराष्ट्रिय परराष्ट्र नीति, मुल्य र मान्यताको कदर रहनेछ भन्ने मानसिकता बनोस् र यस्तै सोचाई र गराई नेपाल प्रतिको व्यवहार र नीतिमा झल्कीयोस् भन्ने नेपालीको चाहना छ।

*   नेपाली नेताहरुको असक्षमता, कमजोरी र कूबुद्धीका कारणनै नेपालीहरु विगतमा भारतले नेपालप्रति अपनाएका र देखाएका सुन्नमा आयका हेपाहा र मिचाहा प्रवृक्तिबाट नेपाली जनता पीडित छन् र उनीहरु यसबाट मुक्त हुन चाहन्छन्।

*   यदी भारतको आर्थिक विकासको लागि नेपालको  जलस्रोत चाहिएको भए हाम्रो जलस्रोत विकास भएपछि चाहिएजति विजुली सुलभ र उपयुक्त मुल्यमा भारतलाई अवश्य दिन्छन् तर सित्तै वा चुत्थो मुल्यमा दिन सक्दैनौं र चाहदैनौं पनि।

*   भारतलाई नेपालको पानी चाहिएको भए त्यो पानी पनि दिन नेपाल तयार छ तर कौडीको मोलमा दिन सक्दैनौं।

*   नेपालको सिमानाबाट भारतलाई सुरक्षाको डर भए त्यो सुरक्षा पनि दिन्छन्। सुरक्षाको प्रत्याभूतिको लागि नेपालका नेताहरुले भारतमा गएर बारम्बार “नेपालले आफ्नो छिमेकी राष्ट्रहरुको विरुद्ध कुनै पनि गतिविधिहरु सञ्चालन गर्न नेपालीको भूमि उपयोग हुन दिने छैनौं” भनेर भट्याउँदै आश्वासन दिईनै रहनु भएको छ। अर्को कुरा चीनबाट नेपालको भूमि प्रयोग गरेर भारत असुरक्षित हुन्छ भन्ने काल्पनिक भूत भारतीय शासक र प्रशासकको मनबाट हट्नु पर्छ साथै नेपाली भूमि डोक्लाम होइन र नेपालले डोक्लामको केसमा दुई देशबीच तटस्थ भएर बस्नु पर्छ।

*   नेपाल आफ्नै सुरक्षा निकायको छत्र छाँयामा बस्न सक्छ र चाहन्छ। तर नेपालको सुरक्षामा भारतले हस्तक्षेप गर्नु जरुरी छैन। सुरक्षाको निहु बनाएर भारतीय सशस्त्र फौंज विना सूचना नेपाल भित्र छिर्ने गतिविधि भने नेपालीलाई सह्य र मान्य हुँदैन। नेपालले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राखेर बस्ने प्रण दिन सक्छ तर नेपालको सार्वभौमलाई आँच पुर्याउने मिचाह व्यवहार नेपालका नेताहरुलाई सह्य भएपनि नेपालीले सहन सक्दैनन्।

*   हाम्रा धार्मिक स्थानहरु भारतीय नागरिकको लागि खुल्ला र निर्धक्क भएर दर्शन गर्न र नेपालका रमणीय स्थानहरुमा घुम्न र रमाउन नेपालीहरुले स्वागत गर्नेछन् तर गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर बुद्धलाई सौदा गरेको नेपालीलाई सैह्य हुँदैन। त्यसैगरी दसगजामा आएर सीमा मिचेर गुम्बा बनाएकोमा नेपालीलाई सहन हुँदैन। तर नेपाली नेताहरु यस बारे केही बोल्दैनन्।

*  नेपाली छिमेकी राष्ट्रले जानी जानी अर्को सार्वभौम देशको भूमि अतिक्रमण गर्नु हुँदैन र मित्र हो भने त्यस्तो हस्तक्षेप गर्दैन पनि तर हाम्रा नेताहरुका कमजोरीका कारण भारतले अतिक्रमण र अवैध रुपले हस्तक्षेप गरेका नेपालका भूमि–कालापानी, लिपुलेक, सुस्ता र पूर्वी सिमानादेखि पश्चिम सिमानाका विभिन्न ठाउँमा सिमा स्तम्भहरु ढालेर र सारेर अतिक्रमण भएका छन्। ती जमिनहरु विना सर्त फर्काइयोस् र सबै सिमा स्तम्भहरु पहिलेकै ठाउँमा सुनिश्चित गरेर बनाउनु पर्छ भन्ने नेपालीहरु चाहन्छन्।

*   विगतमा भएका असन्तुलित र असमान दुई देश बीच भएका सन्धिहरु विशेष गरेर सुगौलिको सन्धि, कोशी र गण्डक वाँधमा भएका सन्धिहरु खारेज गरिनु पर्छ र नयाँ सम्झौता बनाउनु पर्छ। उदाहरणको लागि कोशी व्यारेजको ढोकाको साँचो भारतको पटनाबाट सञ्चालित हुँदा पनि हाम्रा नेता र प्रशासकहरु चुँ पनि बोल्न सक्दैनन् जब की नेपालमा कोशी व्यारेजको ढोका बन्दका कारण हजारौं मानिसको जग्गा डुवानमा पर्दा सबैजना तमासा हेरेर बसे। यस्तै नेपाली नेताहरुकै आँखा अगाडी दक्षिण सिमा नजिक बनाएका १५ वटा बाँधका कारण लाखौं जनता र उनीहरुको घरबार डुवानमा परेका छन्। यस्ता अवैध वाँधहरु विशेष गरेर लक्ष्मणपुर वाँध, कलकलुवा तटवन्धन, धौलीगंगा वाँध, कोरलाबास तटवन्धन, महलिसागर वाँध, रसीया वाल खुर्दलोटन वाँध, डन्डाफोर वाँध, लालबकैया तटवन्धन, वैरागनिया तटवन्धन, बाग्मती तटवन्धन, कमला तटबन्धन, सिराह तटवन्धन, खाँडो तटवन्धन र लुना वाँध आदि भारतद्वारा यथाशिघ्र भत्काएर खारेज गरिनु पर्छ भन्ने आवाज नेपाली नेताहरुले उठाएर समस्या सुल्झाउनु पर्ने हो तर के यो देशका नेताहरुले भारतको जस्तो आफ्नो देश र जनतालाई फाइदा हुने कदम उठाउलान् र ? अरुको जग्गा आफ्नो कारणले डुबानमा पारेर जनतालाई सुकुम्बासी बनाउने घोर अपराध हो। तर नेपालीहरु प्रति यति ठूलो अन्याय हुँदाका दिनसम्म सबै नेताहरु निदाएर या नजाने जस्तो गरेर बसिनै रहे। नेपालीहरु भने अर्को वर्षा अघिनै अवैध वाँधहरु भत्किाइएर स्थिति सुध्रिएको देख्न र वाँच्न चाहन्छन्।

*   भर्खरै नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरेको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउन र अरुण तेस्रो योजना अघि बढाउन निम्तो दिईसक्नु भएको छ। यो अवस्थामा नेपालीले मित्रराष्ट्रका नाताले उहाँलाई नेपालमा फेरीपनि खुल्ला ह्दयले स्वागत गर्न चाहन्छन्। तर यो औपचारिक भ्रमण गर्नुभन्दा पहिला माथि उल्लेख गरिएका र यस्तै नेपालका हित विपरित विगतमा गरिएका असमान सन्धिहरु सच्याँउदै र विगतमा घटेका र घटाईएका विध्वंशकारी घटनाहरु सुल्झाएर या सुधारेर नेपाल आए मात्र नेपालीहरुको मनमा रहेको मैला हट्ने छ र मित्रताको अनुभूति गर्नेछन् तर प्याट्रोनाईजिङ व्यवहारले र चिप्ला कुरा र चिल्ला पात नेताहरुलाई देखाएमा नेपालीहरुको मन फेरि एकपल्ट खिस्रिक्क हुनेछ। के नेपाली नेताहरुले यसमा ध्यान देलान् – शंकै लाग्छ।

*   अर्कोतिर अगष्ट २४, २०१७ मा नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीको संयुक्त प्रेश विज्ञप्ती दिँदा प्रधानमन्त्री देउवाले बोल्न खोजेको एउटा वाक्य पनि पूर्ण रुपमा बुझ्न नसकिदा फेरी एकपल्ट हाम्रो नेताले सम्पूर्ण राष्ट्रको नाकमा कालो धब्बा लगाएको भान भयो। स्वाभीमान हुँ भन्ने नेपालीको छाती खुम्चिएको छ र लाजले शिर झुकाउनु परेको छ। हामीलाई थाहा छ यो भर्खरकै घटनाको दृश्य मात्रै नभएर पहिलेदेखि प्रधानमन्त्री देउवा बोल्न सक्नु हुन्न भनेर। तर त्यस्तो शब्द र वाक्य निकाल्न नसकेर माइक्रोफोनमा श्वास मात्र फेर्नुको सट्टा घाँटीको समस्या देखाएर उहाँले दिने विज्ञप्ती अर्कै पढ्नसक्ने व्यक्तिलाई आफ्नो छेउमा उभ्याएर पढ्न लगाए के बिग्रन्थ्यो ? हामी नेपालीले नेताहरुका कारण कहिलेसम्म आफ्नो लाज ढाकेर बसिरहनु पर्छ ?

*   अब नेताहरुले भारतसँग ङिच्च दाँत देखाएर हामीलाई एम्बुलेन्स देउ, स्कूल भत्किएको बनाउनलाई आर्थिक सहायता देउ, हाम्रो पार्टी, पौवा, मन्दीर जिर्ण भए मर्मत गरिदेउ, कोशी बाँध बनाउँदाको सम्झौतामा भारत सरकारले नेपाललाई ५० करोड दिनुपर्ने आजसम्म नपाएकोले त्यो रकम पनि देउ, हाम्रो हस्पिटल बनाईदेउ, निर्वाचन गर्न गाडी देउ आदि मागेर भारतको अगाडी घुँडा टेकेर हात पर्सान जरुरी छैन। यस्ता प्रकारको सहायता माग्नु र पाउनुमा गर्व गर्नु देशको नाक काट्नु बराबर हो। नेपालको आन्तरिक स्रोतको उपयुक्त सदुपयोग गरे मात्रै पनि नेपाल आर्थिक विकास र सम्वृद्धिको बाटोमा लाग्नेछ। परमुखी बने आत्मनिर्भर होइन तर परनिर्भता बढ्नेछ।

*   अर्कोतिर विशेष गरेर मधेस मुलका नेताहरुले देशको प्रधानमन्त्रीसँग राष्ट्रले खेप्नु परेको राजनीतिक समस्याहरुको छलफल गरे पश्चात तुरुन्त भारतीय राजदुतसँग गएर निर्देशन लिंदा यो देशको सार्वभौमता र स्वतन्त्रतामा आँच पुर्याएको छ।

मेरो अनुभव, असन्धान, अन्वेशण र विश्लेषणको आधारमा भन्ने हो भने नेपालमा अहिले देखेका र जानिएका बुढा र पुराना भएर थाकिसकेका अधिकांश स्वार्थी नेताहरु नेतृत्वमा रहीरहे नेपालले कुनै हालतमा पनि कुनै प्रकारको प्रगति गर्न सक्दैन। यी असक्षम भैसकेका नेताहरुले पार्टीभित्रका युवा र इमान्दारी नेताहरुले विस्तापित गरे मात्र नेपालको भविष्य बन्ला नत्र भने पुराना नेताहरुले त  प्रशासक र जनताहरुलाई चाप्लुसी, चोरी र चाकडी बाहेक अरु देलान र सिकाउलान जस्तो लाग्दैन। भरखरै सिङ्गो राष्ट्र र अन्तराष्ट्रिय जगतले हाम्रा प्रधानमन्त्री भारतमा गएर संविधान संशोधन गर्छु भनेर दिएको गैर जिम्मेवारीपूर्ण असक्षमता र चाकडीको दृष्टान्त हो।

संविधानका बुंदा प्रधानमन्त्रीको खल्तीमा राखेका छन् कि– संविधान संशोधन दुई तिहाई सांसदहरुको भोटले मात्र हुन सक्छ ? के संविधान संशोधन प्रधानमन्त्रीको पेवा हो ? होइन भने यस्ता गैर जिम्मेवारी भनाई र अभिव्यक्तिले नेपाललाई डुबाउँदै छ। त्यसैले यस्ता असक्षम नेताहरुलाई जिम्मेवारीबाट अवकास दिनुमानै यो देशको कल्याण छ। वहाँहरुले कुस्त कमाईसक्नु भएको छ। अब नेपालीहरुले नयाँ पुस्ताका इमान्दार नेता खोज्नै पर्छ। नेपालीहरु छिमेकीसँग खुल्ला दिल लिएर मित्र भएर बस्न चाहन्छन् र आफ्ना नेताहरुलाई भन्न चाहन्छन् की सक्छौ भने एकपल्ट नेपाल र नेपालीलाई माया गरेर त हेर। कठै नेपालीहरु आउने कति दिनसम्म आफ्नो  अस्तित्व हराउने त्राश्को दोसाँधमा बाचूँन ? यस्को उतर त भ्रस्ट नेताहरुले जानुन जो  “भ्रस्ट्लाई पनि  चुनाब लाडन दिइयोस”  भने्र साम्सद्मा भोट हाल्न ताम्सिरर्हका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij