काठमाडौं- बन्दीपुर केवल कार एन्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सञ्चालन आम्दानी घटेका कारण कम्पनीको घाटा केही बढेको देखिएको छ।
कम्पनीको आम्दानीको तुलनामा खर्च बढी हुँदा यस त्रैमासमा पनि नोक्सानी व्यहोर्नुपरेको छ। सञ्चालन आम्दानीः चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले सञ्चालनबाट १ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको २ करोड २६ लाख को तुलनामा उल्लेख्य गिरावट हो।
यस त्रैमाससम्म कम्पनीको खुद नोक्सानी १ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नोक्सानी १ करोड २४ लाख रुपैयाँ थियो।
कम्पनीको कूल खर्च २ करोड ४८ लाख रुपैयाँ रहेको छ, जसमा कर्मचारी खर्च, प्रशासनिक खर्च र ह्रासकट्टीको ठूलो हिस्सा छ। कम्पनीको कूल गैर–चालु सम्पत्ति ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ। यसमध्ये १ अर्ब ५२ बराबरको रकम ‘निर्माणाधीन पूँजीगत कार्य’ (क्यापिटल वर्क इन प्रोग्रेश) मा रहेको छ, जसले होटल तथा अन्य संरचनाहरू अझै निर्माणकै क्रममा रहेको देखाउँछ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा कम्पनीको नगद मौज्दातमा उल्लेख्य सुधार भई ६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर आम्दानीः ०.५७ रुपैयाँ, प्रति शेयर नेटवर्थः ९१ रुपैयाँ ९० पैसा, प्रति शेयर कूल सम्पत्तिको मूल्यः १३७ रुपैयाँ ३२ पैसा रहेको छ ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। यद्यपि, निरन्तरको घाटाका कारण जगेडा कोष २२ करोड ९३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij