काठमाडौँ -कृषि तथा पर्यटन क्षेत्रमा क्रियाशील नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो । बुधबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रमकाबीच नीभ कर्पोरेशनका अध्यक्ष यज्ञमुर्ति न्यौपाने र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
वि.सं. २०७६ सालमा स्थापना भएको यस कम्पनीको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ भने सम्पर्क कार्यालय काठमाडौंको सोल्टीमोडमा अवस्थित छ। कम्पनीले हाल दाङ, नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रमा स्थानीय संस्कृति, स्वाद र परिवेशलाई समेटेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीमा कृषि तथा पर्यटन विज्ञ, प्रतिष्ठित व्यवसायी, युवा उद्यमी र चार्टर्ड एकाउन्टेन्टका रूपमा विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूको संलग्नता रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij