काठमाडौं– नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको आधारभूत अवस्था बलियो तर लाभांश क्षमता कमजाेर देखिएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कमाएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३४ प्रतिशत मात्र बढी हो। खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढेको हो।
खुद नाफामा सामान्य वृद्धि देखिएपनि बैंकको प्रतिशेयर आम्दानी २५ रुपयाँ ३४ पैसा हुनु र प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा हुनुले बैंकको आधारभूत अवस्था बलियो रहेको संकेत गर्दछ। त्यस्तै, बैंकको न्यून कोषको लागत र १३.०५ प्रतिशत पूँजीकोष पर्याप्तताले पनि बैंकको बलियो आधारभूत अवस्थाको संकेत गर्दछ। यद्यपि, ४.९६ प्रतिशतको खराब कर्जा बैंकका लागि चुनौती बनेको छ।
आधारभूत अवस्था बलियो भएपनि बैंकको लाभांश क्षमता भने कमजोर रहेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा मात्र छ। आगामी त्रैमासमा बैंकले ऋण असुलीमा कत्तिको सुधार गर्छ, त्यसले नै वास्तविक लाभांश क्षमता तय गर्नेछ।
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको जगेडा कोषमा २५ अर्ब ३९ करोड १ लाख रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij