काठमाडौं -गोल्छा समूहले नवलपुरको देवचुलीमा औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन गर्ने सर्भो प्लान्ट सञ्चालनमा ल्याएको छ । इन्डियन आयल कर्पोरेसन र गोल्छा ग्रुपबीचको सहकार्यमा उक्त प्लान्ट सञ्चालनमा ल्याइएको हो ।
बिहीबार (वैशाख १०) समूहका अध्यक्ष शेखर गोल्छाले उक्त प्लान्ट सञ्चालनमा ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय अनुभव र स्थानीय व्यावसायिक क्षमताको संयोजनमार्फत स्थापना गरिएको यो उद्योगबाट नेपालमै उच्च गुणस्तरका लुब्रिकेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताएका छन् ।
देवचुलीस्थित उक्त उत्पादन केन्द्रबाट प्रत्यक्ष रूपमा करिब १५० जनालाई रोजगारी प्रदान गरिनेछ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यसले सीप विकास र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउने गोल्छा समूहको भनाइ छ ।
यो उद्योग सञ्चालनसँगै नेपालमा लुब्रिकेन्टजस्ता अत्यावश्यक औद्योगिक सामग्रीको आयातमा केही हदसम्म कमी आउनेछ । यसले दीर्घकालमा औद्योगिक आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।
इन्डियन आयल कर्पोरेसन र गोल्छा ग्रुपको सहकार्यमा सुरु भएको यो परियोजनालाई नेपाललाई उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढाउने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भरता मजबुत बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij