काठमाडौँ – उपत्यकाभित्र राति पनि सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याइएको छ। काठमाडौँ महानगरपालिका को पहलमा अन्य स्थानीय तह र साझा यातायात को सहकार्यमा सेवा सुरु गरिएको हो।
नयाँ व्यवस्थाअनुसार राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन हुनेछ। सेवा प्रारम्भसँगै उपत्यकाका प्रमुख स्वास्थ्य संस्था र महत्वपूर्ण स्थानहरू जोड्ने गरी दुई वटा मुख्य रुट निर्धारण गरिएको छ।
पहिलो रुट ललितपुर क्षेत्रको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल तथा गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म विस्तार गरिएको छ। उत्तर–दक्षिण जोड्ने यो मार्गको एकतर्फी दूरी करिब १६ किलोमिटर रहेको जनाइएको छ।
दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। पूर्व-पश्चिम जोड्ने यस मार्गको एकतर्फी दूरी करिब २० किलोमिटर छ।
यी दुवै रुटमा चार वटा विद्युतीय बस सञ्चालन गरिनेछ भने निर्धारित बस स्टपहरूमा करिब २० मिनेटको अन्तरालमा सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ। सेवा शुभारम्भका अवसरमा कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij