२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिडिया प्रणाली सुन्दर फूलबारी जस्तो हुनुपर्छ

मिडिया प्रणाली सुन्दर फूलबारी जस्तो हुनुपर्छ

1K
Shares

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख, सह प्राध्यापक डा.कुन्दन अर्यालले मिडिया प्रणाली सुन्दर फूलबारी जस्तो हुनुपर्ने बताउनुभएको छ ।
निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारी निर्णयका विषयमा नेपाल प्रेस इन्स्टिच्युटद्वारा मंगलबार आयोजित भर्चुअल अन्तरक्रियाका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बताउनुभयो, “सरकारी मिडियालाई बलियो बनाउन सरकारले हतारमा यो निर्णय गरेको हुनसक्छ । जुन जटिल विषय हो । मिडिया प्रणाली सुन्दर फूलबारी जस्तो हुनुपर्छ । जहाँ विविधता चाहिन्छ । ”
अन्तरक्रियामा वरिष्ठ मिडिया विज्ञ रामकृष्ण रेग्मीले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नुहुँदै निजी मिडियाको चेतनाको स्तर सधैँ उत्कृष्ट रहेकोले आमनागरिकलाई सुसूचित बनाउने कार्यलाई निरन्तरता दिन सरकारले निजी मिडियालाई विज्ञापन दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
“निजी मिडिया पनि सरकारकै सम्पत्ति भएकोले सरकारले विज्ञापन रोक्नु हुँदैन । सरकारको साथ र विज्ञापन भएन भने पत्रपत्रिकाहरु बन्द हुनेछन् ।” प्रेस काउन्सिलका अध्यक्ष कुमार आचार्यले बताउनुभयो । साथै उहाँले सरकारको निर्णयविरुद्द गरिने आन्दोलनमा राजनीति छिर्न सक्ने हुँदा त्यसबारे सचेत रहन सुझाव दिनुभयो ।
यसैगरी नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका अध्यक्ष भगवती तिमिल्सिनाले आफ्नो विचारमा सूचना सरकारी मिडियामा मात्र सीमित भयो भने सूचना सम्प्रेषणमा समस्या आउने भएकोले कुनै एक पक्षलाई मात्र प्राथमिकता दिन नहुने बताउनुभयो । यस्तै उहाँले निजी मिडियालाई हटाएर होइन, सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै सञ्चारकर्मी लिलाराज भट्टराईले भन्नुभयो, “सरकारले निजी मिडियालाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु लोकतन्त्रमाथिको प्रहार हो । जनताको सुसूचित हुने अधिकारमाथिको प्रहार हो । यस विरुद्द आवाज बुलन्द गर्नुपर्ने आवश्यकता ठान्दछु ।”
अन्तरक्रियामा नेपाल प्रेस इन्स्टिच्युटका संयोजक पत्रकार कपिल काफ्लेले कार्यक्रम सञ्चालकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । अन्तरक्रियामा नेपाल प्रेस इन्स्टिच्युटको ४१ औँ ब्याचका प्रशिक्षार्थी पत्रकारहरुसहित ५० जना भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij