२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंक रेटिङ ‘क्रेडिट वाच’, वित्तीय अवस्था चुनौतीपूर्ण

हिमालयन बैंक रेटिङ ‘क्रेडिट वाच’, वित्तीय अवस्था चुनौतीपूर्ण

515
Shares

काठमाडौँ – हिमालयन बैंक लिमिटेडको वित्तीय अवस्था पछिल्लो समय चुनौतीपूर्ण बन्दै गएको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले बैंकको ‘इशूयर रेटिङ’ र ऋणपत्र (बन्ड) दुवैलाई नकारात्मक प्रभावको ‘क्रेडिट वाच’ (Credit Watch with Negative Implications) मा राखेको हो।

बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँदै केयर रेटिङ्सले यसलाई ‘केयर–एनपी ट्रिपल बी’ (CARE-NP BBB) रेटिङ कायम गरेको छ। यसले बैंकको लगानीमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

खराब कर्जा र नाफामा दबाब: बैंकको निष्क्रिय कर्जा (NPL) निरन्तर चुलिँदै जानु र ब्याज मार्जिनमा आएको गिरावटले खुद नाफामा उल्लेख्य दबाब पारेको छ।

आन्तरिक विवाद: बैंकको उच्च व्यवस्थापन र सञ्चालक समितिभित्र देखिएको गुटगत राजनीति तथा आन्तरिक संरचनागत विवादले कार्यसम्पादनमा प्रत्यक्ष असर पारेको रेटिङ एजेन्सीको विश्लेषण छ ।

कम प्रतिफल र लागत वृद्धि: निक्षेपको लागत (Cost of Funds) बढ्नु र संकलित निक्षेपको ठूलो हिस्सा कम प्रतिफल दिने सरकारी बन्ड तथा राष्ट्र बैंकका उपकरणहरूमा थुप्रिनुले बैंकको ब्याज आम्दानी घटाएको छ।

गैर–बैंकिङ सम्पत्ति: गैर–बैंकिङ सम्पत्ति (Non-Banking Assets) को व्यवस्थापनमा आएको कठिनाइ र सम्भावित जोखिम व्यवस्थापन (Provisioning) का कारण आन्तरिक पूँजी सिर्जनामा समेत कमी आएको छ।

त्यसैगरी बैंकले जारी गरेको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ पनि मध्यम सुरक्षा स्तरको र जोखिमयुक्त बन्डको रूपमा मूल्याङ्कन गरिएको छ । यस बन्डको रेटिङ ‘त्रिपल बी’ कायम राख्दै यसलाई पनि क्रेडिट वाचमा राखिएको छ ।

बैंकको ब्याज मार्जिनमा गिरावट, ऋण लागतमा वृद्धि र ऋण र निक्षेपबीचको अन्तरको वृद्धिले नाफामा दबाब पारेको छ । विशेष गरी कम प्रतिफल दिने सरकारी बन्ड र नेपाल राष्ट्र बैंकको साधनहरूमा निक्षेप गरिएको अत्यधिक रकमले बैंकको ब्याज आम्दानी घटाएको छ । साथै गैर–बैंकिङ् सम्पत्तिमा घाटा पूर्ति र ऋणमा परेको दबाबका कारण आन्तरिक पूँजी सिर्जनामा कमी ल्याएको छ ।

हिमालयन बैंक लिमिटेड १९९२ फेब्रुअरीदेखि सञ्चालनमा रहेको बैंक हो । तीन दशकभन्दा बढी समयदेखि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । प्रारम्भमा हबीब बैंक लिमिटेडले करिब २० प्रतिशत शेयरधारिता राखेको थियो जुन सिभिल बैंक अधिग्रहणपछि करिब १३ प्रतिशतमा घटेको थियो । २०२५ नोभेम्बर २ मा हबीब बैंकले आफ्नो सम्पूर्ण १२.९३ प्रतिशत शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गरी बैंकबाट बाहिरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij