२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आठौँ सिजनको ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुला

आठौँ सिजनको ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुला

975
Shares

काठमाडौँ- रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा ब्युटिसियनहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिको लागि विगत ८ वर्षदेखि सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ हुँदै आएको छ ।
यसै बिच ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन – ८ को फारम खुलेको छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी चैतको अन्तिम साता काठमाडौँमा आयोजना हुँदैछ । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुका लागि फारम खुला गरिएको हो ।
ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६ को उपाधि विजेताले यस पटक ५० हजार रुपैयाँसहित उपाधि, क्राउन र विभिन्न उपहार प्राप्त गर्नेछन् । यस्तै फस्ट रनर अप, सेकेन्ड रनर अप लगायतलाई पनि विभिन्न पुरस्कारहरूको व्यवस्था गरिएको आयोजक एवम् वरिष्ठ ब्युटिसियन सोनी कारंजितले जानकारी गराएकी छिन् । उनका अनुसार विजेताहरूले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अवसर, मोडलिङ गर्ने अवसर पनि प्राप्त गर्नेछन् । सोनीका अनुसार ब्युटिसियन तथा ब्युटिसियन क्षेत्रमा आउन चाहनेहरूले यो प्रतियोगितामा भाग लिने पाउने छन् । ब्युटिसियन क्षेत्रमा नलागेकाहरूलाई पनि ब्युटिसियनसम्बन्धि प्रशिक्षण दिएर फाइनलमा उतारिने भएको छ ।
यो कार्यक्रमका बारेमा आयोजक वरिष्ठ ब्युटिसियन सोनी कांँजितले भनिन्,‘ब्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिसँगै उनीहरूलाई राष्ट्रिय मञ्चमा उतार्न हामीले विगत ९ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएका हौँ । कोरोनाका कारण एक वर्ष स्थगित भए पनि बाँकी हरेक वर्ष यो प्रतियोगिता नियमित रुपमा आयोजना हुँदै आएको छ ।’
प्रतियोगिताको फारम विलक्षण क्रियसन प्रा.लि.को कार्यालय पुतलीसडक, रोज ब्युटी एकेडेमीको कार्यालय रवीभवनलगायत अन्य ब्युटी पार्लरहरूमा समेत पाइने अर्का आयोजक डब्बु क्षत्रीले जानकारी गराएका छन् । यो प्रतियोगिताको लागि पहिलो अडिसन यही १५ फागुनमा लिइने भएको छ । यस्तै दोस्रो अडिसन आगामी २९ फागुनमा तय गरिएको र आगामी १ चैतबाट प्रशिक्षण सुरु गरिने पनि आयोजक क्षत्रीले बताए ।
प्राय ब्युटी पार्लर भित्रै सीमित रहने व्युटिसियनहरुका लागि आफ्नो क्षेत्रमा केही फरक प्रस्तुति दिनको लागि यो प्रतियोगिता उपयुक्त प्लेटफर्म भएको आयोजक डब्बु क्षत्रीको कथन छ,‘ब्युटिसियनहरुलाई कस्टमर केयरिङदेखि धेरै कुरामा यो प्रतियोगिताबाट फाइदा पुग्ने छ । यसले उनीहरूलाई एउटा सेलिब्रेटीको रूपमा थप परिचयसमेत स्थापित गर्नेछ ।’ क्षत्रीले भने ।
यो प्रतियोगितामा सहभागी हुनेहरूले गाउन र टिसर्ट त पाउँछन् नै । उनीहरूले ब्युटिसियन सम्बन्धी दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । सो प्रशिक्षणमा प्रतियोगीहरूलाई क्यारेक्टर मेकअप, पर्मामेन्ट ल्यासेस, ब्राईडल मेकअप, विभिन्न हेयर स्टाईल एवम् जुरो, हेयर केयर, स्किन केयर, वाटर मार्वल नेलआर्ट, स्पेशल डान्स, बतृत्वकला, पर्सनालिटी डेभलपमेन्ट जस्ता विषयमा प्रशिक्षण समेत दिइने भएको छ । यस्तै दुई साताको क्याटवाट तथा ग्रुमिङ प्रशिक्षणसमेत उनीहरूलाई गराइने भएको छ । यस्तै उनीहरूको विशेष फोटो सेसन र भिडियो सेसन पनि हुने आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij