२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वैश्विक आर्थिक अनिश्चितताले जापानको सेयर बजार प्रभावित

वैश्विक आर्थिक अनिश्चितताले जापानको सेयर बजार प्रभावित

690
Shares

एजेन्सी – विश्व अर्थतन्त्रप्रति बढ्दो चिन्ताका कारण मङ्गलबार टोकियो सेयर बजारमा गिरावट आएको छ । अमेरिकाले ग्रिनल्यान्डसम्बन्धी विषयमा कडा भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएपछि लगानीकर्ताहरू सतर्क बनेका हुन् ।

दुई सय २५ कम्पनी समेटिएको मानक निक्केई स्टक एभरेज सूचकाङ्क सोमबारको तुलनामा ५९२.४७ अङ्क अर्थात् १.११ प्रतिशतले घट्दै ५२ हजार ९९१.१० अङ्कमा बन्द भयो । यसैगरी, व्यापक टोपिक्स सूचकाङ्क पनि ३०.८० अङ्क अर्थात् ०.८४ प्रतिशतले घटेर तीन हजार ६२५.६० अङ्कमा सीमित रह्यो ।

यसबीच, जापान सरकारको १० वर्षे बेंचमार्क बन्डको प्रतिफल केही समयका लागि २.३५० प्रतिशतसम्म पुगेको थियो, जुन फेब्रुअरी १९९९ यताकै उच्च स्तर हो । प्रधानमन्त्री सानेए ताकाइचीको सरकारले सरकारी खर्च बढाउने र थप ऋण जारी गर्ने अपेक्षाले सरकारी बन्ड बिक्री बढ्दा प्रतिफल उक्लिएको विश्लेषकहरूले बताएका छन् ।

सेयर बजारमा अर्धचालक, कृत्रिम बुद्धिमत्ता (एआई) तथा विद्युतीय उपकरणसम्बन्धी कम्पनीका सेयरहरूमा विशेष रूपमा बिक्री दबाब देखिएको थियो । यी क्षेत्रहरू आर्थिक अवस्थाप्रति संवेदनशील मानिने भएकाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डको विषयलाई लिएर युरोपका आठ देशका वस्तुहरूमा नयाँ भन्सार शुल्क घोषणा गरेपछि अमेरिका–युरोप सम्बन्ध बिग्रन सक्ने चिन्ताले बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij