काठमाडौं -फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट सञ्चालक समितिमा साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा समाजसेवी तथा व्यवसायी यूवा राजेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको सोह्रौ वार्षिक साधारण सभामा सम्पन्न निर्वाचन प्रक्रिया अनुसार खड्का निर्विरोध चयन भएका हुन् । निर्वाचन अधिकृतको कार्यालय, ज्ञानेश्वर, काठमाडौंद्वारा जारी प्रमाणपत्रमा खड्का निर्विरोध निर्वाचित भएको उल्लेख गरिएको छ। प्रमाणपत्रमा वरिष्ठ निर्वाचन अधिकृत रामबन्धु सुवेदीको हस्ताक्षर रहेको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “घ” वर्गको राष्ट्रियस्तरको थोक लघुवित्त वित्तीय संस्था हो। संस्थाले ग्रामीण क्षेत्रका समुदायमा आधारित सहकारी तथा साझेदार संस्थामार्फत विपन्न तथा न्यून आय भएका वर्गलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
संस्थाको मुख्य उद्देश्य विपन्न वर्गमा कर्जा प्रवाह गरी आयआर्जन, स्वरोजगार, उद्यमशीलता विकास र समग्र जीवनस्तर उकास्न सहयोग पुर्याउनु रहेको छ। २०८२ असार मसान्तसम्म संस्थाको अधिकृत पूँजी रु. २०० करोड रहेको छ भने जारी तथा चुक्ता पूँजी रु. १३५.४८ करोड पुगेको छ ।
संस्थाका प्रमुख प्रवर्द्धक शेयरधनीमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक तथा आइ.सि.एफ.सि. फाइनान्स लगायतका वित्तीय संस्थाहरू रहेका छन् । हाल संस्थाले ३७ जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै ५२ साझेदार संस्थामार्फत ४५ जिल्लाका न्यून आय भएका तथा विपन्न परिवारलाई आयआर्जन तथा जीविकोपार्जनसम्बन्धी गतिविधिमा सहयोग पुर्याउँदै आएको छ ।
नव–निर्वाचित सञ्चालक राजेन्द्र खड्काले फरकपत्र डटकमसँग कुरा गर्दै आफ्नो कार्यकाल सफल रहने विश्वास व्यक्त गर्दै संस्थाले आगामी दिनमा लघुवित्त सेवाको प्रभावकारी विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij