काठमाडौं – सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफा एवं पुँजी समायोजन कोषबाट बैंकका साधारण सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकका अनुसार, बोनस सेयर तथा नगद लाभांश कर प्रयोजनका लागि समेत गरी कुल २० प्रतिशतको लाभांश तथा अग्राधिकार सेयरधनीहरूलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।
अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मिति देखि २०८३ आषाढ मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) समानुपातिक रुपमा प्रदान गरिने छ ।
साधारण सेयरतर्फ बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैँयामा १० प्रतिशत बराबरको एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बोनस सेयर तथा १० प्रतिशत बराबरको एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
साथै, अग्राधिकार सेयर तीन अर्ब ५० करोडमा ८.२५ प्रतिशतका दरले १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँको नगद लाभांश सेयर बाँडफाँड भएको मितिदेखि समानुपातिक रूपमा प्रस्ताव गरेको हो ।
उपरोक्त बमोजिमको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा ११ करोड अर्थात् ३.३२ प्रतिशतको वृद्धि हो । यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई ३.५२ प्रतिशतमा सीमित गर्न सफल भएको जनाएको छ ।
२०८३ असार मसान्तमा बैंकको चुक्ता पुँजी १४ अर्ब ७९ करोड र अग्राधिकार सेयर तीन अर्ब ५० करोड रहेको छ । जगेडा कोष १८ अर्व ५८ करोड रहेको छ ।
बैंकको नेटवर्थ ३६ अर्व ८८ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा पाँच अर्ब ९१ करोडले वृद्धि भएको छ । यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रतिसेयर २२४.८९ रहेको छ । जुन गत आ.व.मा रु. २१९.७७ थियो । यो गत आ.व.को तुलनामा २.३३ प्रतिशतले वृद्धि हो । साथै, यस आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी रु. २२.७८ रहेको छ, जुन गत आ.व.मा २२.७६ रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij