काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको १९९औं बैठकको निर्णयअनुसार सभा आगामी असोज २३ गते शुक्रबार काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
सभाले बैंकको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले लाभांश करसहित कुल १ अर्ब १३ करोड ६८ लाख ४२ हजार १०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो।
प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि कम्पनी ऐनअनुसार नेपाल सरकारको अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव छ। त्यस्तै, चालू आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। हालका लेखापरीक्षक बीआरएस न्यौपाने एन्ड कम्पनीलाई पुनः नियुक्त गर्ने प्रस्ताव राखिएको छ।
सभाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी निर्वाचित दुई सञ्चालकमध्ये सीमा अधिकारी आचार्यले दिएको राजीनामा स्वीकृत गर्ने तथा बाँकी कार्यकालका लागि शान्ता राजमार्गीलाई सञ्चालक नियुक्त गरिएको निर्णय अनुमोदन गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij