२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

265
Shares

महोत्तरी- बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्र एन्टी स्नेक भेनमको अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेको छ । मधेस र पहाडका आठ जिल्लाका सर्पदंशका बिरामीको उपचार गर्दै आएको सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडाले एन्टी स्नेक भेनमको अभावमा सेवा बन्द गर्नुपरेको जनाएको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को प्रारम्भदेखि नै विषालु सर्पको टोकाइको उपचारमा प्रयोग हुने उक्त भेनमको अभाव हुँदै आएको केन्द्रले जनाएको छ । उपचार सेवालाई निरन्तरता दिन प्रयत्न गरिए पनि भेनम पाउन नसकेपछि बाध्य भएर सूचना टाँस गर्नुपरेको केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउनुहुन्छ ।

“हामीले औषधिका लागि प्रदेश र सङ्घीय सरकारका सम्बद्ध निकायमा निकै धायौँ, तर भेनम पाउन सकिएन”, देवकोटा भन्नुहुन्छ, “यस्तो अवस्थामा सेवा दिन नसकिने भएपछि बाध्य भएर सूचना टाँस गरेका हौँ ।” केन्द्रले बुधबार साँझदेखि सेवा दिन नसकिने व्यहोराको सूचना टाँस गरेको छ ।

विसं २०७१ साउन ३१ गतेदेखि सर्पदंशको उपचार गर्न थालेको केन्द्रले हालसम्म ३३ हजारलाई सेवा दिएर ज्यान बचाएको छ । मधेसका महोत्तरी, धनुषा र सर्लाही, कोशीका उदयपुर र ओखलढुङ्गा तथा बागमती प्रदेशका सिन्धुली र रामेछापसम्मका सर्पदंशका बिरामीले यहाँबाट उपचार सेवा लिँदै आएको विवरण छ । त्यसबाहेक दोलखा, रौतहट र सिरहाका बिरामी पनि समयसमयमा उपचार लिन यहाँ आउने गरेका थिए ।

बर्दिबास आफैँ सर्पको बिगबिगी भएको स्थानका रूपमा परिचित छ । पछिल्लो दुई महिनायता भेनम पाउनै कठिन भएपछि केन्द्रमा उपचार लिन आउनेलाई सेवा दिन नसक्दा ग्लानी भएको देवकोटा बताउनुहुन्छ ।

आफ्नो ठाउँमा स्थापित भइसकेको केन्द्रबाट उपचार दिन नसक्ने सूचना पढेपछि वरपरका बासिन्दा अब अप्ठ्यारा दिन आउने आशङ्काले चिन्तित छन् । “सरकारले औषधिको व्यवस्था गरिदिनुपर्छ”, बर्दिबास–३ गौरीडाँडाकै बासिन्दा गीता खतिवडा भन्नुहुन्छ, “नभए त उपचार नपाएरै मर्ने अवस्था आउने भयो ।” तीनै तहका सरकार यो समस्याप्रति गम्भीर हुनपर्ने बर्दिबासका सामाजिक सङ्संस्था र नागरिक समाजका प्रतिनिधिको धारणा छ ।

“ठूलै समस्या देखिएको छ, एन्टी स्नेक भेनमको व्यवस्थापनमा सम्बद्ध पक्ष लाग्नुपर्यो”, अन्तर सङ्घसंस्था समन्वय सञ्जाल बर्दिबासका संयोजक रामकुमार कार्की भन्नुहुन्छ, “यसका लागि पहिलो पहलकदमी स्थानीय तहको नेतृत्वले लिनपर्छ ।” भेनमको अभावले तत्काल उपचार गर्न नसकिए पनि औषधि उपलब्ध हुनासाथ सेवा सञ्चालन गरिने केन्द्रले जनाएको छ । सो केन्द्रमा नेपाली सेनाका दक्ष प्राविधिकले उपचार सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij