काठमाडौं – यशोदा ग्रुपले बाढीपीडितलाई ३० लाखको करेन्ट चाउचाउ वितरण गरेको छ । साथै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे तीन करोड सहयोग गरेको छ ।
राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोद्वारा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा तीन करोड ५१ लाख ५१ हजार आर्थिक सहयोग प्रदान गरेको हो ।
ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् ।
यसका साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा ३० लाखबराबरको करेन्ट चाउचाउ समेत वितरण गरेको छ । ग्रुपले आवश्यक परेमा अझै पनि चाउचाउ पठाउन र पीडितलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ ।
साथै, यस विपद्को घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्नका लागि यशोदा ग्रुप इन्डस्ट्रिज प्रा.लि. पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij