२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोटेकोशी बाढीपीडितका लागि नेपाल तयारी पोशाक उद्योग संघद्वारा ३३ लाख ३३ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि नेपाल तयारी पोशाक उद्योग संघद्वारा ३३ लाख ३३ हजार सहयोग

295
Shares

काठमाडौं – तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल तयारी पोशाक उद्योग संघले गहिरो दुःख व्यक्त गरेको छ।

संघले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा घाइते एवं प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायबाट भइरहेको प्रयासप्रति संघले प्रशंसा गरेको छ।

यसै क्रममा, मानवीय संकटमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु. ३३ लाख ३३ हजार ३ सय ३३ बराबरको चेक अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरिएको संघले जनाएको छ। संघका सदस्य उद्योगहरूले समेत आ–आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

त्यसैगरी, बाढीपीडित तथा प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेतासमेतको सहयोगमा लत्ताकपडा, तयारी पोशाक तथा अन्य आवश्यक सामग्री राहतस्वरूप वितरण भइरहेको संघले जनाएको छ।

संघले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरहरूको संरक्षण र सिर्जनामा समेत विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

नेपाल तयारी पोशाक उद्योग संघले विपद्को यस घडीमा प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत, पुनर्स्थापना तथा रोजगारी पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij