काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले बिहीबार गरेको निर्णयप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) स्वागत गरेको छ ।
सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गरी भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ । नाडाको अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीद्धारा जारी विज्ञप्तीमा भनिएको छ विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनको वातावरण बनाउन सरकारले लिएको यो कदम अत्यन्त सकारात्मक र स्वागतयोग्य रहेको छ ।
विशेषगरी बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने नाडा विश्वास लिएको छ । त्यस्तै, क्षतिग्रस्त मेशिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियत पनि पुनःस्थापनाका लागि महत्वपूर्ण छ ।
बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजमा सहुलियत दिने निर्णयले व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब कम गर्नेछ। साथै, क्षतिग्रस्त सवारी तथा उपकरण पुनः खरिदका लागि कर्जा उपलब्ध गराउने व्यवस्था व्यवसायको निरन्तरताका लागि महत्वपूर्ण रहेको नाडाको निष्कर्ष छ।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीले भन्नुभयो, “विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु अत्यन्त सकारात्मक कदम हो। यसले प्रभावित व्यवसायीलाई पुनः व्यवसायमा फर्किन महत्वपूर्ण आधार प्रदान गर्नेछ ।”
नाडा सरकारको निर्णयको शीघ्र, सरल र प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आग्रह गर्दछ। साथै, वास्तविक क्षतिको अध्ययन गरी आवश्यकताअनुसार दोस्रो चरणको पुनरुत्थान प्याकेजसमेत ल्याउन नाडा सरकारसँग आग्रह गर्दछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij