२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कार्यक्रम व्यवस्थापन संघद्वारा नुवाकोटका बाढीपीडितका लागि डेढ लाखभन्दा बढीको राहत सामग्री सहयोग

कार्यक्रम व्यवस्थापन संघद्वारा नुवाकोटका बाढीपीडितका लागि डेढ लाखभन्दा बढीको राहत सामग्री सहयोग

495
Shares

काठमाडौं । कार्यक्रम व्यवस्थापन संघले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका बाढीपीडितका लागि खाद्यान्न, भाँडाकुँडा, कपडा लगायतका राहत सामग्री सहयोग गरेको छ।

संघले करिब १ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री संकलन गरी नुवाकोटका बाढीपीडितसम्म पुर्‍याउन सहयोग गरेको हो।

संघका अध्यक्ष राजेन्द्र लुईटेलका अनुसार विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत संकलन गरिएको हो।

‘विपद्को समयमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले संघले आफ्नोतर्फबाट सक्दो सहयोग गरेको हो। करिब एक लाख ५० हजार रुपैयाँभन्दा बढीको खाद्यान्न, भाँडाकुँडा, कपडा लगायतका सामग्री संकलन गरेर नुवाकोट पठाउँदैछौं,’ अध्यक्ष लुईटेलले भने।

राहत सामग्री संघका सदस्य तथा अन्य सहयोगीहरूको सहयोगमा संकलन गरिएको संघका कोषाध्यक्ष मनोज थापाले जानकारी दिए।

‘यो राहत सामग्री संघका सदस्यहरू तथा अन्य सहयोगीहरूको सहयोगमा संकलन गरिएको हो। विपद्मा परेका नागरिकलाई सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। सबैको सानो–सानो सहयोगबाट ठूलो राहत सामग्री जुटाउन सफल भएका छौं,’ कोषाध्यक्ष थापाले भने।

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जान लागेकी शोभा बुटिक होटलकी सञ्चालक शोभा गुरुङलाई संघले उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। गुरुङले नुवाकोटका प्रभावित परिवारसम्म सामग्री पुर्‍याउने बताएकी छन्।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुईटेल, उपाध्यक्ष तृष्णा गुरु, महासचिव सोनित राज ढुंगेल, कोषाध्यक्ष मनोज थापा लगायत संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा अभिनेता श्रीदेव भट्टराई, होटल व्यवसायी शोभा गुरुङ, चर्चित कलाकार डिजे युवा, चर्चित मेकअप आर्टिस्ट टेकराज पाण्डे, राहुल बन्जाडे लगायतको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विपद्को समयमा राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए। तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा, भाँडाकुँडा लगायतका सामग्रीले बाढीपीडित परिवारलाई केही हदसम्म राहत पुग्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रम व्यवस्थापन संघले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
संघले नुवाकोटका पत्रकारद्वय किरण अधिकारी र सनि श्रेष्ठलाई नगद तथा खाद्यान्न सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij