काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका पत्रकारद्वय किरण अधिकारी र सनि श्रेष्ठलाई कार्यक्रम व्यवस्थापन संघले नगद तथा खाद्यान्न सहयोग गरेको छ।
बाढीबाट प्रभावित पत्रकारद्वयलाई संघले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नगद तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। विपद्का कारण समस्यामा परेका पत्रकारलाई तत्काल राहत पु¥याउने उद्देश्यले संघले सहयोग गरेको जनाएको छ।
सहयोग हस्तान्तरण गर्दै कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुईटेलले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।

‘विपद् कसैलाई भनेर आउँदैन। यस्तो संकटको समयमा पीडितको दुःखमा साथ दिनु हाम्रो मानवीय जिम्मेवारी हो। पत्रकार आफैं अरूको दुःख र समस्यालाई समाजसम्म पुर्याउने काममा निरन्तर खटिन्छन्। आज उनीहरू समस्यामा पर्दा उनीहरूको साथमा उभिनु हाम्रो कर्तव्य हो,’ अध्यक्ष लुईटेलले भने।
उनले सहयोगलाई केवल राहतका रूपमा मात्र नहेरी विपद्मा परेका व्यक्तिप्रति ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको अभिव्यक्तिका रूपमा लिनुपर्ने बताए।
भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रका बासिन्दासँगै सञ्चारकर्मीसमेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। विपद्का बेला आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारलाई आवश्यक सहयोग र हौसला प्रदान गर्नुपर्नेमा कार्यक्रममा सहभागीहरूले जोड दिएका थिए।
सहयोग हस्तान्तरण कार्यक्रममा कार्यक्रम व्यवस्थापन संघकी उपाध्यक्ष तृष्णा गुरुङ, महासचिव सोनित राज ढुंगेल, कोषाध्यक्ष मनोज थापा लगायत संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा अभिनेता श्रीदेव भट्टराई, होटल व्यवसायी शोभा गुरुङ, चर्चित कलाकार डिजे युवा, चर्चित मेकअप आर्टिस्ट टेकराज पाण्डे, राहुल बन्जाडे लगायतको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा संघका पदाधिकारीहरूले विपद्का बेला राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा राज्यसँगै निजी क्षेत्र, संघसंस्था र नागरिक समाजले समेत आ–आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्ने धारणा राखेका थिए।
संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
बाढीपीडित पत्रकारद्वय किरण अधिकारी र सनी श्रेष्ठले सहयोगका लागि कार्यक्रम व्यवस्थापन संघप्रति आभार व्यक्त गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij